|  

कोपा अमेरिका : पेनाल्टीमा ब्राजिलले पराग्वेलाई हराउँदै सेमिफाइनलमा !

१३ असार २०७६, शुक्रबार ०९:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


कोपा अमेरिका फुटबलको सेमिफाइनल ब्राजिल प्रवेश गरेको छ । आज बिहान भएको क्वार्टरफाइनल खेलमा पाहुना टोली पराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले स्तम्भ पार्दै आयोजक टोली ब्राजिल सेमिफाइनल पुगेको हो ।
९० मिनेट र इन्जुरी ७ मिनेटको समयमा पनि खेल ०–० मा सकिएपछि खेललाई थप ३० मिनेटमा नलगी सोझै पेनाल्टीमा लगिएको थियो । जसमा ब्राजिलले पराग्वेलाई ४–३ ले निराश बनायो ।

त्यसअघि खेलको ५८औं मिनेटमा पराग्वे १० खेलाडीमा सीमित भएको थियो । आफ्नो बक्सबाहिर ब्राजिलका फरवार्ड रोवर्ट फर्मिन्होलाई गम्भीर फउल गरेपछि रेफ्रीले भिएरआबाट फाबिएनलाई सोझै रातो कार्ड दिएर मैदानबाट पठाएपछि पराग्वे बाँकी समय १० खेलाडीमा खेलेको थियो ।

९० मिनेटपछि खेललाई सोझै पेनाल्टीमा लगिएको थियो । जसमा ब्राजिलका गोलकिपर एलिसन बेकरले एक पेनाल्टी बचाए भने ब्राजिलको एक पेनाल्टी बाहिर गयो । पराग्वेले दुई पेनाल्टी गुमायो ।

पहिला पेनाल्टी लिएको पराग्वेका गुस्ताभो गोमेजको प्रहार एलिसनले रोकिदिएका थिए । त्यसपछि ब्राजिलका विलियनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि पराग्वेका लागि मिगुएल अल्मिरोनले दोस्रो प्रहारमा गोल गरे भने ब्राजिलका मार्किन्होसले पनि गोल गरेर २–१ बनाए ।

त्यसपछि पराग्वेका ब्रुनो भाल्डेज र ब्राजिलका फिलिपे कोउटिन्हो दुवैले गोल गरेपछि खेल ३–२ भयो । त्यसपछि पराग्वेका लागि जाउन रोड्रिगो रोजासले गोल गरेर खेल ३–३ बनाए ।

तर, त्यसपछि ब्राजिलका रोवर्ट फर्मिन्होको प्रहार बाहिर गएपछि पराग्वेलाई राहत मिलेको थियो । तर, लगत्तै पराग्वेका डेर्लिस गोन्जालेज हानेको प्रहार पनि बाहिर गएपछि ब्राजिललाई पुनः राहत मिलेको थियो ।

१३ असार २०७६, शुक्रबार ०९:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस