|  

भेनेज्वेला लाइ हराउदै अर्जेन्टिना कोपा अमेरिका को सेमिफाइनमा

१४ असार २०७६, शनिबार ०७:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल अर्जेन्टिना प्रवेश गरेको छ । नेपाली समयअनुसार शनिबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा उसले प्रतिद्वन्द्वी भेनेज्वेलामाथि २–० को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।

अर्जेन्टिनाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । उसका लागि खेल सुरु भएको १० मिनेटमै लौटारो मार्टिनेजले आकर्षक गोल गरेर अग्रता दिलाएका थिए । उनले बक्सभित्र सर्जियो अगुएरोले दिएको छोटो पासमा उत्कृष्ट ब्याक हिल प्रहार गर्दै बललाई जाली चुमाएका थिए ।

त्यसपछि दोस्रो हाफमा अर्जेन्टिनाले दोस्रो गोलका लागि ७४औं मिनेटसम्म संघर्ष गर्नुपरेको थियो । अगुएरोले बक्स भित्रबाट हानेको प्रहार भेनेज्वेलाका गोलरक्षकको हातबाट चिप्लिएपछि नजिकै रहेका जियोभानी लो सेल्सोले सहजै गोलमा परिणत गर्दै अर्जेन्टिनालाई २–० को सहज अग्रता दिलाए ।

खेलमा २–० ले पछि परेको भेनेज्वेलाले त्यसपछि गोल गर्न सकेन । र, खेल अर्जेन्टिनाले २–० ले जित्यो ।

यससँगै अर्जेन्टिनाले सेमिफाइनलमा प्रतियोगिताको आयोजक तथा प्रमुख उपाधि दाबेदार टिम ब्राजिलसँगको भेट पक्का गरेको छ । अब फाइनल पुग्न ब्राजिल र अर्जेन्टिनाले एकले अर्कोलाई पन्छाउनुपर्ने हुन्छ छ । यो खेललाई प्रतियोगिताको ‘फाइनल’ खेलका रूपमा हेरिएको छ ।

पहिलो सेमिफाइनल खेल आगामी जुलाई ३ तारिखमा हुनेछ । सो खेलमा हुने दक्षिण अमेरिकी क्षेत्रका पावर हाउस ब्राजिल र अर्जेन्टिनाको रोमाञ्चक भिडन्त हेर्नलायक हुने छ ।

१४ असार २०७६, शनिबार ०७:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस