यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
धादिङ — नजिकिँदै गरेको चाडपर्वलाई लक्ष्य गरेर नौबीसे–नागढुंगा सडकलाई ‘नो ओभरटेक जोन’ घोषणा गरिएको छ । उकालो र मोडहरूमा मालवाहक सवारी ढिलो गुड्ने भएकाले जामका बेला पनि साना सवारीले ओभरटेक गरेर उल्टै थप जाम गर्ने भएपछि यो १५ किमि दूरीलाई पहिलो पटक ‘नो ओभरटेक जोन’ भनेर लेन अनुशासनमा कडाइ गरिएको हो ।
नौबीसेदेखि खानीखोला–खत्रीपौवा–सिक्रेखोलादेखि नागढुंगासम्मको खण्डमा उकालो, साँघुरो र धेरै मोड छन् ।
धादिङका प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा बिहीबार धुनीबेंसी नगरपालिकामा बसेको सरोकारवालाको बैठकले पर्वमा सवारी जाम हुन नदिन यस्तो निर्णय गरेको हो । चाडपर्वमा हुने दैनिक १५ देखि १८ हजार सवारीसाधन व्यवस्थापन गर्न यातायात व्यवसायीसमेत जिम्मेवार हुनुपर्ने जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारले बताए ।