|  

प्रदेश भित्रका पत्रकारहरुको हकहित, सुरक्षा र सेवाका लागि प्रदेश सरकार गम्भीर – मन्त्री जम्कट्टेल

२६ माघ २०७६, आईतवार ११:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


हेटौंडा, २६ माघ । 
बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले प्रदेश भित्रका पत्रकारहरुको हकहित, सुरक्षा र सेवा सुविधाको विषयमा प्रदेश सरकार गम्भिर भएको बताएका छन् । आइतबार हेटौंडामा भएको चलचित्र विकास बोर्डका अध्यक्ष स्वर्गीय केशव भट्टराईको श्रद्धाञ्जली सभा तथा मोफसलमा चलचित्रको विकास विस्तारमा पत्रकारको भूमिका विषयक अन्तरक्रियामा बोल्दै मन्त्री जमकट्टेले प्रदेश राजधानी हेटौंडालाई सडक सञ्जालले समस्या सिर्जना गरेको बताउनुभयो ।
उनले हेटौंडाको सडक अवस्था, प्रदेशको भौगोलिक दृष्टिकोणबाट हेर्दा कोल्टेमा पर्ने र जनतालाई टाढा पर्ने हुँदा आफूले पनि हेटौंडा राजधानी बनाउन नचाहेको बताएका छन् ।
‘व्यक्तिगतरुपमा भन्दा म पनि हेटौंडालाई राजधानी बनाउने पक्षमा थिइन् । पार्टीको निर्णयले यहाँ राजधानी हुन सफल भयो । अब यसलाई नयाँ ढंगबाट विकास गर्नुपर्छ ।’ उनले भने ।
प्रदेश भित्रका पत्रकारहरुको हकहित, सुरक्षा र सेवा सुविधाको विषयमा प्रदेश सरकार गम्भिर भएको बताए । उनले पत्रकारहरुकै लागि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पत्रकार कल्याणकारी कोष बनाएर क्याविनेट बैठकमा लैजाने तयारी गरेको बताए ।
उनले जेष्ठ पत्रकार, गम्भिर बिरामी र सुत्केरी महिला पत्रकारहरुका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए । कोषबाट एउटा सुत्केरी महिला पत्रकारलाई ८० हजार रुपैयाँसम्म सहयोग गर्न सकिने उनले जानकारी दिए ।
सापेक्षमा भन्दा प्रदेश सरकारले ल्याएको सञ्चार ऐन पत्रकारहरुको लागि राम्रो भएको मन्त्री जमकट्टेलले बताए ।
कार्यक्रममा बोर्डका सदस्य नरेन्द्र महर्जन, प्रदेश पत्रकार महासंघका अध्यक्ष प्रताप विष्ट, बानका उपाध्यक्ष उज्वल चौलागाईं, निर्वाचन कमिटीका संयोजक गिरिजा अधिकारी लगायतको आतिथ्यता थियो । आज संघको अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।

२६ माघ २०७६, आईतवार ११:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस