|  

एमाले अध्यक्ष ओली र बरिस्ठ नेता नेपाल विच भेटवार्ता हुने

१९ श्रावण २०७८, मंगलवार ०७:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं : नेकपा (एमाले)को विवाद मिलाउनका लागि आज अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट हुने भएको छ।

गत आइतबार राति संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र उपमहासचिव बिष्णु पौडेलले अध्यक्ष ओलीसँग करिब चार घण्टा छलफल गरेका थिए। यता माधव नेपालसँग भीम रावल सुरेन्द्र पाण्डे लगायतका नेताहरुले करिब छ घण्टा छलफल गरेको एमाले स्रोतको भनाइ छ। त्यसपछि सोमबार दुवै समूहले स्थायी कमिटी बैठकमा छलफल गरेका थिए।

आ-आफ्नो समूहमा छलफल गरेर पुन विघटित कार्यदलको तहमा छलफल भएपछि आज अध्यक्ष ओलीलाई  भेट्न नेपाल तयार भएका हुन्। भेट हुने भए पनि समय र स्थान भने टुंगो लागि सकेको छैन्। ‘कुनै नाटकीय परिवर्तन भएन भने अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेट हुन्छ,’ उपनेता सुवास नेम्बाङले भने,  ‘भेटघाटको समय र स्थान उहाँहरुको सचिवालयले मिलाउला।’

विगतको दश बुँदे सहमतिका आधारलाई टेकेर त्यसमा आवश्यक फेरबदल गर्ने जिम्मा ओली नेपाललाई दिने विगतको कार्यदलले निर्णय गरेको छ।  त्यस आधारमा जे जस्तो समझदारी गरे पनि पार्टीका नेता कार्यकर्ताले स्विकार्ने उच्च तहको समझदारी बनेको जनाइएको छ।

‘अध्यक्ष ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएर र नेता नेपालको प्रस्तावमा अध्यक्ष ओली सहमति भएर नै भेटघाट तय भएको हो,’ कार्यदलका एक सदस्य भन्छन्, ‘दुवै नेताको भेटपछि एमाले नेता कार्यकर्ताले निराश हुनुपर्ने अवस्था आउदैन।’

आफ्नो समूह भित्रका अधिकांश नेताहरुले अध्यक्ष ओलीसँग सहमति गरेर अघि बढ्न नेता नेपाललाई दबाब दिएपछि केही दिनदेखि उनी लचिलो भएका हुन्।  एमालेको खनाल-नेपाल समूहको हिजो बसेको स्थायी कमिटीको बैठकले आरोप प्रत्यारोप बन्द गरी शीर्ष नेतालाई वार्ताको वातावरण बनाउन दबाब दिएका थिए।

१९ श्रावण २०७८, मंगलवार ०७:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस