माओवादी केन्द्रमा प्रवेश गरेका जोशी र पौडेल कञ्चनपुरका स्थापित नेता मानिन्छन्। जोशीले २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा २५०० भन्दा बढी मत प्राप्त गरेका थिए। २०३९ मा अनेरास्ववियू पाँचौंमा संगठित भई राजनीतिक जीवन प्रारम्भ गरेका जोशी नेकपा (एमाले) को कञ्चनपुर जिल्ला कमिटीमा क्रियाशील रहँदै आएका थिए। प्रजातान्त्रिक राष्ट्रिय युवा संघ र सम्पर्क मञ्चमा समेत रहेर काम गरेका उनी सुदूरपश्चिमका स्थापित नेता मानिन्छन्।
त्यसैगरि मंगलबार नै माओवादी केन्द्रमा प्रवेश गरेकी पवित्रा पौडेल महिला आन्दोलनकी स्थापित नेतृ हुन्। पौडेल तीन दशकदेखि राजनीतिक आन्दोलनमा सक्रिय हुँदै अनेमसंघको केन्द्रीय सचिवालयमा रहेर काम गरेकी थिइन्।
नेता जोशी र पौडेललाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका थिए। मंगलबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको एक कार्यक्रमका बिच उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। पार्टी प्रवेश गर्दै नेताहरूले कम्युनिस्ट आन्दोलनको मूलधारका रूपमा माओवादी केन्द्र नै रहेकाले आफूहरू पार्टी प्रवेश गरेको र जिल्लामा नयाँ ढंगले ध्रुवीकरणको प्रक्रिया अगाडि बढाउने बताए।
नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बिना मगरसँगको छलफलपछि नेताहरू पार्टी प्रवेश गरेका हुन्। नवआगन्तुक नेताहरूलाई उचित जिम्मेवारी दिइने माओवादी केन्द्रले जनाएको छ।