|  

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्ने

१४ भाद्र २०७८, सोमबार १८:०७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टी अध्यक्षमा दावी गर्न आफू योग्य रहेको बताएका छन् । तर उम्मेदवार हुने नहुने भन्ने देशको परिस्थिति र कार्यकर्ताको चाहनामा भर पर्ने उनले बताए ।

सोमबार पत्रकारसँगको कुराकानीमा उनले आफू क्षमता, निष्ठा, इतिहास र निरन्तरताका आधारमा एमालेको अध्यक्षका लागि नेता हुनका लागि आफू योग्य रहेको बताए ।

‘म व्यक्तिगत ढंगले भने मेरो हिस्ट्री मेरो निरन्तरताले मेरो क्षमता, म डिजर्भ गर्छु भनिरहनै परेन’ उनले भने, ‘तर देशको परिस्थिति कस्तो हुन्छ, देशभरिको कार्यकर्ताको चाहना के हुन्छ ?’

आफू उम्मेदवार भए पनि कार्यकर्ताको चाहना नभएमा उम्मेदवार हुनुको कुनै अर्थ नहुने पोखरेलले बताए । नेकपा एमालेको आगामी महाधिवेशन २०७९ साल बैशाख बैशाख १० गते भित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

महासचिव पोखरेलले त्यसैको तयारीका लागि पार्टीले आगामी असोज पहिलो हप्ता विधान महाधिवेशनको आयोजना गरिएको पनि बताए ।

उनले सत्तारुढ गठबन्धनलाई ‘टालाटुली’को संज्ञा दिँदै यो धेरै नटिक्ने जिकिर गरेका छन् । ‘टालाटुली बाटुली के जाति भन्ने कुरा छ नि । त्यो हेर्दै जानु छ । यो गठबन्धन कसरी रहन्छ, कति दिन रहन्छ ? कसरी गर्छ, हेर्दै जानुछ । हामी नेशनल पोलिटिक्सको सही पोलमा उभिएर मुलुकलाई सही दिशा दिने हिसाबले अगाडि जान्छौं’ उनले भने ।

महासचिव पोखरलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेभित्रको गुटबन्दीको कारण आफ्नो पार्टीमा विभाजन आएको बताए ।

१४ भाद्र २०७८, सोमबार १८:०७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस