|  

पूर्वमाओवादीहरुको जिम्मेवारी एमालेबाट खोसियो

१४ भाद्र २०७८, सोमबार १९:५० प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। नेकपा माओवादी केन्द्रबाट अलग भएर नेकपा एमालेमा प्रवेश गरेका पूर्वमाओवादीहरुको जिम्मेवारी एमालेबाट पनि खोसिएको छ। सोमबार अन्तरपार्टी निर्देशन (अपानि) जारी गरेर पार्टी २०७५ जेठ २ मै फर्काउने निर्णय गरेसँगै पूर्वमाओवादी नेताहरुको जिम्मेवारीविहिन भएका हुन्।

नेकपा माओवादी छाडेर एमाले प्रवेश गर्ने रामबहादुर थापा ‘बादल’, मणि थापा र लेखराज भट्टको जिम्मेवारी खोसिएको छ। उनीहरुको ठाउँमा एमालेकै साविकका नेताहरुले जिम्मेवारी सम्हालेका छन्। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गर्दा दुई भागमा विभाजित हुँदा ओली समूहले पूर्वएमाले नेताहरुले सम्हाल्दै आएको ठाउँमा पूर्वमाओवादी नेतालाई जिम्मेवारी सुम्पेको थियो। जसमा बादललाई बाग्मती प्रदेशको ईन्चार्ज, मणि थापालाई कर्णाली र लेखराज भट्टलाई सुदूरपश्चिमको ईञ्चार्ज बनाइएको थियो।

तर, सोमबार पार्टीलाई जेठ २ कै संरचनामा फर्काउने निर्णय भएसँगै पूर्वमाओवादी नेताको ठाउँमा एमालेकै नेताहरुले जिम्मेवारी पाएका छन्। एमालेले प्रदेश १ को ईञ्चार्जमा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बाग्मतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ्ग, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिममा भीम रावल पूर्ववत जिम्मेवारी तोकेको छ।

१४ भाद्र २०७८, सोमबार १९:५०  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस