|  

एमाले परित्याग गरेका गौतमको सांसद पद यथावत रहने

१८ भाद्र २०७८, शुक्रबार १९:४५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन्। गौतमले शुक्रवार कार्यालय सचिव शेरबहादुर तामा‌ङलाई राजीनामा बुझाएका हुन्। एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट गौतमले अन्ततः पार्टी परित्याग गर्ने निर्णय लिएका हुन्।
राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ। राजीनामा पत्र बुझाउँदै गौतमले एमालेका नेताहरूसँग व्यक्तिगत सम्बन्ध रहे पनि राजनीतिक रूपमा एमालेमा अब रहन नसक्ने बताएको कार्यालय सचिव तामाङले बताए।
पार्टी छाडेसँगै उनको राष्ट्रियसभा सदस्य पद के हुन्छ भन्ने चासो उब्जिएको छ। जानकारहरूका अनुसार उनले पार्टी छाडे पनि सांसद पद भने यथावत् नै रहने भएको छ। उनी राष्ट्रियसभामा सरकारद्वारा मनोनीत हुने तीन जना मध्येका एक भएकाले पार्टी छाड्दैमा पद नजाने भएको हो।
युवराज खतिवडाले दुई वर्षे कार्यकाल पुरा गरेर पदमुक्त भएपछि केपी ओली नेतृत्वको सरकारले गत वर्ष असोज १ गते गौतमलाई राष्ट्रियसभामा मनोनीत गरेको थियो। दलबाट निर्वाचित सांसदको हकमा भने पार्टी छाडेपछि स्वतः दल त्याग आकर्षित हुने व्यवस्था छ।

यस्तो छ बामदेव गौतमले लेखेको राजिनामा पत्र

१८ भाद्र २०७८, शुक्रबार १९:४५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस