|  

गजुरी गाउँपालिकामा लफडा : अध्यक्षले रिसोर्टमा बैठक बोलाए पछि उपाध्यक्ष सहित बहुमत सदस्यले गरे बहिस्कार

१८ भाद्र २०७८, शुक्रबार २०:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङको गजुरी गाउँपालिका बेलाबेला विभिन्न काण्डले चर्चामा आउने गरेको छ । कहिले गाउँपालिकाको आन्तरिक राजस्व त कहिले ठेक्का पट्टाका कुराले गाउँपालिकामा लफडा हुने गरेको हो । शुक्रवार फेरी गजुरी गाउँपालिकामा अर्का नयाँ लफडा भयो । जब गाउँपालिकाका अध्यक्षले कार्यपालिकाको बैठक रिर्साटमा राखेको जानकारी उपाध्यक्ष लगायत कार्यपालिकाका सदस्यहरुलाई जानकारी गराए तफ लफडा शुरु भयो । शुक्रवार विहान गाउँसभाको तयारीको लागि बस्ने भनिएको कार्यपालिका बैठकका लागि जव कार्यपालिका सदस्यहरु गाउँपालिका पुगे तव बाहिर बसको सहचालकले आउनुस् आउनुस् तपाईहरुलाई मलेखु पारिको रिर्साेटमा बैठकमा लेराउनु भन्नु भएको छ भने पछि सबै झस्याङ् भएको उपाध्यक्ष सीता ढुंगानाले बताउनु भयो ।
गाउँपालिकाको अध्यक्षले रिसोर्टमा बोलाएको कार्यापालिका बैठक बहुमत सदस्यले बहिस्कार गरेका छन् ।

गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले विना एजेण्डा रिसोर्टमा बोलाएको बैठक गाउँपालिका उपाध्यक्ष सीता ढुंगानासहित बहुमत सदस्यले बहिस्कार गरेका हुन् सिद्धलेक गाउँपालिकामा पर्ने रिभरपार्क विच रिसोर्ट गाउँपालिका अध्यक्षले बैठकका लागि बुक गरेको थियो । रिसोर्टका कर्मचारीका अनुसार गाउँपालिका अध्यक्ष बस्नेतले भदौ १८ र १९ गते लागि २ दिनका लागि सबै रिसोर्ट बुक गरेका थिए ।
‘‘गाउँपालिकाको सरकारी कार्यालय नै बैठक बस्ने ठाउँ छ, त्यहाँ नभएर श्रोतकेन्द्रको हल पनि छ’, उपाध्यक्ष ढुंगानाले भनिन् आफ्नो पालिका छोडेर अन्यत्र रिसोर्टमा राखिएको बैठकमा सहभागी हुन उपयुक्त नठानेर रिसोर्टको बैठक बहिस्कार गरेका हौं ।’

बैठकका लागि गाउँपालिका अध्यक्ष बस्नेत र १ नं. वडा अध्यक्ष राजकुमार पण्डित रिसोर्टमा पुगेपनि बाँकी ७ जना वडा अध्यक्ष र कार्यपालिका अन्य सदस्यहरु कोहीपनि रिसोर्ट पुगेनन् । गाउँपालिका अध्यक्षले आफु रिसोर्टमा पुगेर बैठकमा सहभागीहरुलाई लिन स्कुनल बस गाउँपालिका कार्यालयमा पठाएपनि उपाध्यक्षसहित वडा अध्यक्ष र कार्यापालिका सदस्यहरुले त्यो बस रित्तै फर्काइदिएका थिए ।

गाउँपालिका अध्यक्षले भने कार्यापालिका सदस्यहरुकै सल्लाहमा कार्यालय बाहिर बैठक राखेको बताएका छन् । ‘बैठकमा गहन छलफल गर्नुपर्ने भएकोले एउटै विषयमा मात्रै लगनशील भएर काम गरौं भनेर पालिका बाहिर बैठक राखिएको हो, उहाँहरु सहभागी हुनुभएन ।’ रिसोर्टमा दैनिक भ्याट बाहेक प्रतिव्यक्ति २५ सय रुपैयाँको दरले ३५ जनाका लागि बुक गरिएको थियो ।

गजुरी गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको खर्च अनुमोदन गर्न नसक्दा यो वर्षको बजेट समेत ल्याउन सकेको छैन ।

१८ भाद्र २०७८, शुक्रबार २०:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस