|  

एमालेको विधान महाधिवेशनमा यस्ताले भाग लिन पाउँछन् (सूचीसहित)

२७ भाद्र २०७८, आईतवार ०७:३७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौं। नेकपा एमालेले विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूको नामावली तयार पारेको छ। शनिबार बसेको स्थायी समिति बैठकले करिब ३ हजार प्रतिनिधिको टुंगो लगाएको हो। प्रचार विभागका प्रमुख योगेश भट्टराईका अनुसार राष्ट्रिय प्रतिनिधि परिषद् नरहेकोले विधानको बाधा अड्काउ फुकाउँदै एमालेले कुन-कुन तहबाट कति सदस्यले विधान महाधिवेशनमा भाग लिन पाउने भन्ने टुंगो लगाइएको हो।

‘हामीले ९ औं महाधिवेशनपछि प्रतिनिधि परिषद् गठन गर्नुपर्ने हो। त्यो बाँकी नै थियो। त्यही कारण विधान संशोधन गर्दै बाधा अड्काउ फुकाउमार्फत विधान अधिवेशनमा भाग लिने क्षेत्र निर्धारण गरेका हौं,’ भट्टराईले भने। एमालेले असोज ४ देखि ६ गतेका लागि तय गरिएको विधान महाधिवेशन असोज १५ देखि १७ गतेलाई सारेको छ।

सचिव भट्टराईका अनुसार विधान महाधिवेशनमा प्रतिनिधि परिषद्का सदस्यहरु विधान महाधिवेशनका सदस्यहरु हुने ऐन रहेपनि प्रतिनिधि परिषद् नबनेकोले केन्द्रिय कमिटी र त्यसका सदस्यहरु, अनुशासन आयोगका प्रतिनिधि र सदस्य, लेखा परिक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रिय विभागका सचिवसहित १५ जना सदस्य, सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्यहरुले भाग लिन पाउनेछन्।

त्यस्तै प्रदेश र सो सरहका पदाधिकारी र सदस्य, विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला, दलित र खुल्ला एक सदस्य, जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमसख र उपप्रमुख, एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनितहरुले पनि विधान महाधिवेशनमा भाग लिन पाउने निर्णय भएको सचिव भट्टराईले बताए।

यस्तो छ विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिको विवरण :

  1.  केन्द्रीय विभाग सचिवसहित १५ सदस्य
  2.  जेष्ठ कम्युनिस्ट मञ्च पदाधिकारी र सदस्य
  3. केन्द्रीय कमिटी पदाधिकारी र सदस्य
  4. विशेष कमिटी पदाधिकारी र सदस्य
  5. निर्वाचन आयोग पदाधिकारी र सदस्य
  6. सल्लाहकार परिषद् पदाधिकारी र सदस्य
  7. अनुशासन आयोग पदाधिकारी र सदस्य
  8. प्रदेश र सोसरहका कमिटी पदाधिकारी र सदस्य
  9. लेखा परीक्षण आयोग पदाधिकारी र सदस्य
  10. जिल्ला कमिटी पदाधिकारी र सदस्य
  11. निर्वाचन क्षेत्रबाट महिला,दलित खुला एक सदस्य
  12. जनसंगठन पदाधिकारीमध्येबाट १० जना
  13. पार्टी सदस्य रहेका संघीय संसदका सदस्य
  14. पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य
  15. एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र,
  16. एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनित सदस्य
२७ भाद्र २०७८, आईतवार ०७:३७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस