|  

धादिङमा कुन पाटिबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

१३ बैशाख २०७९, मंगलवार ०६:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ – आगामी स्थानिय तह निर्वाचनका लागी धादिङमा एमाले र गठबन्धनको तर्फबाट उम्मेदवारी परेको छ ।

जिल्लाको २ नगरपालिका र ११ गाउँपालिका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले गठबन्धन गरेर संयुक्त उम्मेदवार उठाएका छन् । नेकपा एमालेले एक्लै उम्मेदवारी दिएको छ ।

गठबन्धन अन्र्तगत कांग्रेसले ८ प्रमुख र ४ उपप्रमुख, नेकपा माओवादीले ३ प्रमुख र ५ उपप्रमुख, समाजवादीले २ प्रमुख र ४ उपप्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेसले प्रमुख पद पाएको नीलकण्ठ नगरपालिकामा भीम प्रसाद ढुंगाना, खनियाबास गाउँपालिकामा रण बहादुर तामाङलाई उम्मेदवार बनाएका छन् । ढुंगाना र तामाङ पहिलो निर्वाचनबाट पनि विजयी उम्मेदवार हुन् ।

गंगाजमुनामा भक्त बहादुर लामा, नेत्रावती डबजोङमा मेघनाथ रिजाल, त्रिपुरासुन्दरी गाउँपालिकामा राजु उप्रेती, ज्वालामुखी गाउँपालिकामा यमनाथ दनै, सिद्दलेक गाउँपालिकामा परशुराम खतिवडा, थाक्रे गाउँपालिकामा राम प्रसाद विडारीलाई कांग्रेसले उम्मेदवार बनाएका छन् ।

गठबन्धन अन्तर्गत नेकपा माओवादी केन्द्रले प्रमुख पद पाएको रुविभ्यालीमा रामसिंह तामाङ, वेनिघाट रोराङमा कृष्ण बहादुर थपलिया र गजुरीमा गणेशलाल श्रेष्ठले मनोनयन दर्ता गरेका छन् । भागबण्डामा माओवादीले उपप्रमुख पद पाएको नीलकण्ठ नगरपालिकामा दिपक विश्वकर्मा, नेत्रावती डबजोङमा उर्मिला गुरुङ तामाङ, त्रिपुरा सुन्दरीमा देवराज धरेल, खनियाबासमा सेतेमान तामाङ र थाक्रेमा यन्त्र बहादुर थापाले मनोनयन दर्ता गराएका छन् ।

गठबन्धन गर्दा भागबण्डामा नपरेका पालिकाहरुमा पनि माओवादीले उम्मेदवारी दर्ता गराएका छन् । वडातहसम्म नै ताललमेल गर्ने भनेर पालिकाहरुको भागबण्डा मिलाइएको भएपनि मनोनयन दर्ता गर्नेबेलासम्म वडा तहमा सहमति नजुटेपछि सबै पदमा उम्मेदवारी दिइएको नेकपा माओवादी धादिङका अध्यक्ष मनराज भण्डारीले बताए । ‘अहिलेलाई मनोनयन दर्ता गरेका छौं, पछि वडा तहको सहमति भयोभने मनोनयन फिर्ता लिएर पनि निर्वाचनमा सहभाागी हुन सक्छौं’ अध्यक्ष भण्डारीले भने ।

गठबन्धनकै तर्फबाट समाजवादीले धुनिबेसी नगरपालिकाको मेयरमा अध्यक्ष बालकृष्ण आचार्य, गल्छी गाउँपालिकाको अध्यक्षमा कृष्णहरि श्रेष्ठलाई उम्मेदवार बनाएका छन् । आचार्य र श्रेष्ठ दुबै २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट विजयी हुन् ।

समाजवादीले गठबन्धनमा उपाध्यक्ष भागमा परेको ज्वालामुखी गाउँपालिकामा धर्म बहादुर अर्याल, बेनिघाट रोराङ गाउँपालिकामा टाप बहादुर श्रेष्ठ, सिद्दलेक गाउँपालिकामा सविता अर्याल र गंगाजमुना गाउँपालिकामा नारायण कार्कीलाई उम्मेदवार बनाएका छन् । समाजवादीले गठबन्धनको तर्फबाट उपाध्यक्षको उम्मेदवार बनाएका चारैजना नयाँ अनुहार हुन् । उनीहरु नेकपा एमालेमा विद्रोह गरी समाजवादीतिर लागेका जिल्लामा परिचित नेता हुन् ।

प्रदेश स्तरीय ५ दलिय गठबन्धनको निर्णय बमोजिम नै नगरपालिकाको प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षको टुंगो लगाएर त्यहि अनुसार मनोनयन दर्ता गराइएको एकिकृत समाजवादी धादिङका इन्चार्ज गुरु प्रसाद बुर्लाकोटीले बताए ।

गठबन्धनसँग भीड्न नेकपा एमालेले जिल्ला सदरमुकाम रहेको नीलकण्ठ नगरपालिकाको मेयरमा गंगादेवी श्रेष्ठ र उपमेयरमा फन्द्रा तामाङलाई उम्मेदवार बनाएका छन् ।

एमालेले धुनिवेसीमा रामराजा पाण्डे र मन्दिरा श्रेष्ठ, थाक्रेमा कृष्ण पन्त र अम्बिका रुपाखेती, गल्छीमा केदार खतिवडा र राधा तिमस्लिना, गजुरीमा राजेन्द्र विक्रम बस्नेत र अम्बिका खतिवडा, वेनिघाट रोराङमा देवप्रसाद त्रिपाठी र हिरादेवी रेग्मी, सिद्दलेकमा प्रेमनाथ सिलवाल र कमला शर्मालाई उम्मेदवार बनाएका छन् । त्यस्तै ज्वालामुखीमा हरिराम लोहरी र चन्द्र कुमारी अधिकारी, त्रिपुरासुन्दरीमा उमेश थापा र संगिता कुमाल, नेत्रावती डबजोङमा सुवर्ण रिमाल र विना कुमारी मम्बा, गंगाजमुनामा भक्त बहादुर लामिछाने र एञ्जिला तामाङ, खनियाबासमा इमान तामाङ र खुर्पीकुमारी तामाङ, रुविभ्यालीमा प्रेम तामाङ र मञ्जु तामाङलाई उम्मेदवार बनाएका छन् ।

१३ बैशाख २०७९, मंगलवार ०६:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस