काठमाडौं । नेपालमा प्रधानमन्त्री बन्ने भन्दै स्वतन्त्र पार्टी दर्ता गरेका रवि लामिछानेको विरुद्धमा अमेरिकी अदालतमा ९ वटा मुद्दा दर्ता भएको भेटिएको छ । सम्बन्ध विच्छेद बाहेक विभिन्न बैंक तथा वित्तीय संस्थाले दायित्व भुक्तानी नगरेको भन्दै लामिछानेलाई प्रतिवादी बनाएर अमेरिकाको मेरिल्याण्ड राज्यमा मुद्दा दर्ता भएको भेटिएको हो । मेरिल्याण्डको टाउसन र बाल्टिमोर काउन्टी अदालतमा लामिछाने विरुद्ध मुद्दा छ । जसमा एक मुद्दा अहिले पनि विचाराधिन रहेको छ ।
अमेरिकाबाट अमेरिकी नागरिकता त्यागेर नेपाल फर्किएका लामिछानेले अमेरिकामा रहँदा लिएको बैंक तथा वित्तीय संस्थाको ऋण र क्रेडिट कार्डको रकम समयमै भुक्तानी नगरेको भन्दै विभिन्न अदालतमा मुद्दा परेको हो । यसबाहेक उनले अमेरिकामा रहँदा सञ्चालन गरेको व्यवसायको लागि खाद्यान्न सप्लाइ गर्ने कम्पनीले समेत समयमा भुक्तानी नपाएको भन्दै अदालतमा मुद्दा दर्ता गरेको थियो । उनको नाममा मेरिल्याण्डमा मात्रै ९ मुद्दा दर्ता भएको देखिन्छ ।
अमेरिकामा रहंदा लामिछाने मेरिल्याण्ड राज्यमा बस्दै र व्यवसाय सञ्चालन गर्दै आएका थिए । जसमा एक मुद्दा मेरिल्याण्ड राज्य सरकारले पनि दायर गरेको छ । राज्य सरकारले भने समयमा कर नतिरेको भन्दै मुद्दा दर्ता गरेको थियो । धेरैजसो मुद्दा लामिछानेले समयमा वित्तीय दायित्व भुक्तानी नगरेको विषयम रहेको छ । यसमा धेरै मुद्दाहरु किनारामा लागेको भएपनि डिस्कोभर बैंकले बाल्टिमोर काउन्टी अदालतमा दायर गरेको मुद्दाको पूर्ण फैसला आइसकेको छैन ।
मेरिल्याण्डको विभिन्न अदालतमा दर्ता भएका लामिछाने विरुद्धका मुद्दाहरु
मेरिल्याण्डको विभिन्न अदालतमा दर्ता भएका लामिछाने विरुद्धका मुद्दाहरु
नेपालमा पत्रकारिताको रुपमा राम्रो छवि बनाएका लामिछाने अहिले राष्टिय स्वतन्त्र पार्टीको नाममा चुनावमा जाने तयारी गरिरहेका छन् । अमेरिकामा भने उनको नाममा रहेको केही मुद्दाको अन्तिम फैसला आउनै बाँकी छ । यसबीचमा २०२१ सालमा अमेरिकामा लामिछानेको नाममा रहेको घर विक्री गरिएको थियो । हामीले यस विषयमा पूर्व पत्रकार तथा नवनिर्मित राष्टिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सोधेका थियौं तर उनको जवाफ आइसकेको छैन । उनको प्रतिक्रिया आएपछि हामी यहाँ अपडेट गर्ने छौ । प्रदेशी पोस्ट बाट ।