काठमाडौंको बाँसबारी–महाराजगन्जबाट नारायणहिटी–जयनेपाल हल, थापाथली हुँदै बागमतीमा मिसिने टुकुचा (इच्छुमती) खोलाको एक सय २४ रोपनी अतिक्रमण भएको छ । व्यक्ति, सरकार र सार्वजनिक संघसंस्थाले खोला मिचेर ६ तलेसम्मका भवन ठड्याएर व्यापारिक प्रयोजनमा लगाएका छन् । काठमाडौं महानगरपालिकाले यस्ता अवैध संरचना भत्काउने अभियानको तयारी गरेको छ । टुकुचासँग जोडिएका अतिक्रमण गर्ने पाँच सय ८१ कित्ता जग्गाको सूची महानगरसँग छ ।
शिरदेखि नै टुकुचा अतिक्रमण भएको छ । महानगरको वडा नम्बर १, २, ४, ११, ३१ र ३२ (तत्कालीन) मा खोला मिचिएको छ । नारायणहिटी दरबार परिसरसम्म खोला देख्न सकिन्छ । तर, त्यहाँबाट बाहिर जयनेपाल हलदेखि कमलादी मोडसम्म करिब पाँच सय मिटरमा त टुकुचा सरकारी नक्साबाटै गायब छ । खोलामाथि पक्की संरचना बनाइएका छन् । कमलादीको उत्तरपूर्व पुतलीसडक मोडनिर आएपछि भने टुकुचा एक ठाउँ झुल्किन्छ । कतै व्यक्तिका पक्की घर बनाइएका छन् भने कतै सार्वजनिक संघसंस्थाले अतिक्रमण गरेका छन् । त्रिपुरेश्वरस्थित सत्यनारायण र महादेव मन्दिरको बीचबाट बग्दै टुकुचा बागमतीमा मिसिएको छ ।
सहरी विकास मन्त्रालयले टुकुचा खोला मिचेका घरको सूची दुई वर्षअघि नै तयार पारेको थियो । ०७७ मा मन्त्रालयले मिचिएको कित्ता नम्बर र घरधनीको नामसहितको सूची तयार पार्ने जिम्मा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिलाई दिएको थियो । त्यसलगत्तै समितिले टुकुचाको अध्ययनका लागि निजी बोनाफाइड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालिलाई विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने जिम्मा दिएको थियो । कन्सल्टेन्सीले तीन महिना लगाएर गरेको अध्ययनपछि डिपिआर रिपोर्ट १५ सेप्टेम्बर २०२० मा समितिलाई बुझाएको थियो ।
तर, दुई वर्षदेखि रिपोर्ट समितिमै थन्किएको थियो । गत आइतबार समितिबाट रिपोर्ट झिकाएर मेयर बालेन्द्र साह ‘एक्सन’मा उत्रिएका हुन् । सोही रिपोर्टका आधारमा बिहीबार महानगरले जयनेपाल हलस्थित टुकुचाको पुरिएको भाग उत्खनन गरेको हो । यसलाई निरन्तरता दिएर अवैध संरचना भत्काउँदै टुकुचालाई पुरानै प्राकृतिक अवस्थामा ल्याउने महानगरले बताएको छ ।
‘टुकुचा पुरिएको क्षेत्र उत्खननको काम हामीले सुरु गरिसकेका छौँ । अब नक्सापास हेरेर महानगरले भवन भत्काउन पनि सुरु गर्छ । यो काम नसकिएसम्म निरन्तर अघि बढ्छ,’ महानगरपालिका प्रवक्ता नवीन मानन्धरले भने, ‘काठमाडौंको खोलालाई प्राकृतिक अवस्थामै ल्याउने हाम्रो योजना छ । यसमा मेयरसापको विशेष चासो पनि छ । उहाँले यो काम नरोक्ने बताउनुभएको छ ।’
के छ अध्ययन प्रतिवेदनमा ?
टुकुचाको शिर बुढानीलकण्ठदेखि त्रिपुरेश्वरसम्म पाँच किलोमिटर क्षेत्रफलमा कन्सल्टेन्सीले अध्ययन गरेको थियो । अध्ययनका क्रममा टुकुचाको सबै भागमा इन्जिनियर पुगेका थिए । तीन महिना लगाएर गरिएको अध्ययनले जोडिएका पाँच सय ८१ वटा कित्ताबाट टुकुचा अतिक्रमण भएको पत्ता लगाएको थियो । टुकुचाको २० प्रतिशत क्षेत्रफल मिचेर व्यक्ति तथा सार्वजनिक संस्थालगायतले पक्की संरचना बनाएकोे र ४० प्रतिशतमा व्यापारिक अस्थायी टहरा बनेको रिपोर्टमा उल्लेख छ । अध्ययनपछि कन्सल्टेन्सीले नदीको क्षेत्रफल दश मिटर राख्नुपर्ने र दायाँबायाँ चार–चार मिटर छाड्नुपर्ने गरी काम गर्न सुझाव दिएको थियो ।
मन्त्रिपरिषद्ले ०६५ मै खोला खाली गर्न भनेको थियो
१ मंसिर ०६५ मा बसेको मन्त्रिपरिषद् बैठकले टुकुचाको अतिक्रमित भाग खाली गर्ने तथा दायाँबायाँ चार–चार मिटर छाडेर मात्रै अरू संरचना बनाउने निर्णय गरेको थियो । त्यसकै आधारमा अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले ०७७ मा डिपिआर गर्न लगाएको थियो । अहिले सोही प्रतिवेदनका आधारमा महानगरले अवैध संरचना भत्काउने अभियान सुरु गरेको समितिका अध्यक्ष उद्धव तिमिल्सिनाले बताए ।
अवैध संरचना भत्काइएपछि समितिले दायाँबायाँ ढल व्यवस्थापन र बाटो बनाउने काम गर्ने तिमिल्सिनाले बताए । अहिले टुकुचाको चौडाइ कहीँ तीन मिटर र कहीँ १० मिटर छ । समितिले यसलाई पनि एकरूपता दिने जनाएको छ । ‘हामीले अब यसलाई खाली गरेरै छाड्छौँ, यसमा सहरी विकास मन्त्रालय, महानगरपालिका, नापी कार्यालयलगायतको समन्वय रहन्छ,’ उनले भने ।
महानगरले शुक्रबार मात्रै जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म सर्भे गरेको छ । करिब पाँच सय मिटर लम्बाइको यो क्षेत्रमा ठूला–साना गीर टुकुचा मिचेर ६५ वटा संरचना निर्माण गरिएका छन् । महानगरको सहरी विभाग प्रमुख सुरज शाक्यका अनुसार त्योे क्षेत्रमा टुकुचा कसरी र कहाँ बगेको छ भन्नेसमेत अत्तोपत्तो छैन । ‘जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म हामीले शुक्रबार सर्भे गरेका छौँ,’ उनले भने, ‘यस क्षेत्रमा खोलामाथि पक्की घर धेरै छन् ।’
टुकुचामा बनेका अवैध संरचना हटाउन सात अर्ब लाग्ने
टुकुचाको मुहानदेखि अन्त्यसम्म निर्माण गरिएका अवैध संरचना खाली गर्न सात अर्ब खर्च हुने अनुमान छ । यसमा मुआब्जा, भवन भत्काउन, खोलाका वरिपरि ढल र सडक निर्माण गर्न यति रकम पनि जोडिएको छ । यति खर्च गरिए खोलालाई पुरानै अवस्थामा फर्काउन सकिने अध्ययन प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, खोलालाई सबैतिर खुला गरेर वरिपरि चार–चार मिटर कायम गराउन अझै १०–१५ वर्ष समय लाग्नेछ ।
जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म ६५ वटा संरचना
जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म साना–ठूला गरी टुकुचामाथि ६५ घरटहरा बनेको सहरी विभाग प्रमुख सुरज शाक्यले बताए । उनका अनुसार त्यो क्षेत्रमा टुकुचा कसरी र कहाँ बगेको छ भन्नेसमेत अत्तोपत्तो छैन । अब भने काठमाडौं प्लाजासम्म कसरी बगेको छ भन्ने मोटामोटी अध्ययन भइसकेको शाक्यले बताए । ‘जयनेपाल हलदेखि काठमाडौं प्लाजासम्म हामीले शुक्रबार सर्भे गरेका छौँ,’ उनले भने, ‘यस क्षेत्रमा खोलामाथि पक्की घर धेरै छन् ।’ महाराजगन्जदेखि कमलादीसम्म अधिकांश भागमा खोलामाथि सडक र संरचना बनाइएका छन् । नयाँ पत्रिका दैनिकबाट ।