शर्मिला तामाङ/गजुरी
गर्भ रहेको ८ महिनामा जन्मेकी बोधकुमारी खतिवडा सामाजीक रुपमा जिवन यापन गर्न सहज नभएको बताउनु हुन्छ । वि.स.२०३५ साल जेष्ठ १९ गते जन्मनुभएको खतिवडा अहिले बत्ति काटेर आफ्नो खर्च चलाउँदै आउनु भएको छ । दुईवटै खुट्टा नचल्ने उनि घरको खाना बनाउने सरसफाई गर्ने काम गर्छिन् । बत्ति काट्दै दैनिकी चलाई रहेकी बोधकुमारीको आफ्नै छुट्टै कथा छ । झट्ट हेर्दा केही नभएको बसिरहेको जस्तो देखे पनि बोधकुमारीको दुई वटै खुट्टा चल्दैनन् । जन्म जात खुट्टा नचलेको बोधकुमारी घिस्रियरै घरको काम गर्ने गर्छिन् । बत्ति काट्ने काम गर्छिन् । दुबै खुट्टा नचल्ने उनि सँग अपाङ्गता भएको रातो कार्ड छ । यता उता गर्न उनि सँग ह्वीलचियर छ तर गाउँको घर भिरालो भुभाग भएको कारण प्रयोग भएको छैन । करिव ४० वर्ष भएकी बोधकुमारीले अहिले सम्म विहे गरेकी छैनन् ।
बत्ति काट्दै बोधकुमारी भन्छिन् “ मेरो खुट्टा बुझ्ने भए देखि नै यस्तै हो । सानै देखि घस्रियर हिंड्न कोसिस गरें, कसैले अभागी भने, कसैले अलक्षिना भने । सहेर बसें । अहिले सबैले मायाँ गर्छन् । सहयोग गर्छन् । बत्ति काटेर मासिक २÷३ हजार कामाउँछु । त्यसले नुन तेल किन्ने गरेकी छु । ’
हुन त उभिएर दुवै खुट्टा टेकेर यता उता गर्ने मन बोधकुमारीलाई नभएको होईन, परिवारका सदस्यले पनि उनको उपचार लाग्छ कि भनेर बुझे तर पारिवारीक आर्थिक अवस्थाको कारण सम्भव भएन । बोधकुमारीको परिवारमा उनि सँगै आमा र भाई छन् । अहिले भाई बैदेसिक रोजगारको लागि बाहिर छन् । भाई विदेश भएका कारण बृद्ध भएकी आमाको हेरचाह गर्ने जिम्मेवारी पनि उनीलाई नै छ । सुरुसुरुमा त छिमेकीहरुले छिछि दुरदुर गरे । अहिले भने वल्लो घर पल्लो घरका छिमेकीले पनि सहयोग गर्न थालेका छन् । सामाजिक संघ संस्था र स्थानिय सरकारले पनि सहयोग गरिरहेको गजुरी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष तारानाथ भण्डारीले बताउनु भयो ।
हुन त समस्याले नै संघर्ष गर्न सिकाउँछ भन्छन् । बोधकुमारीलाई समस्या सँगै बाध्यताले जगड्यो । त्यसपछि उनले घर खर्च चलाउनका लागि हाते काम सुरु गरिन् । कपास काटेर बत्ति पार्न थालिन् । यति मात्रले उनीलाई चित्त बुझेन, अहिले उनी सिलाई कटाईको तालिम सकेर बसेकी छन् । विस्तारै अवसर पाए र कसैले सहयोग गरे सालाईको काम गर्न ईच्छुक रहेको बताउँछिन् । उनले बनाएको बत्ति अहिले लाखबत्ति बाल्ने धार्मिक कार्यक्रमहरुमा किनेर लाने गरेका छन् ।
हुन त आफ्नै खुट्टामा उभिने रहर कस्लाई हुँदैन र ? यस्तै भएको छ, बोधकुमारीलाई । अझै पनि कसैले सहयोग गरिदिए हिंड्न सक्थेँकी भन्ने लाग्ने गरेको छ । उनिको अझै भगवान माथिको आसा टुटेको छैन ।