|  

मुगुका स्थानीयको मुख्य आम्दानी ‘हिमाली हीरा’

२५ श्रावण २०८०, बिहीबार ०७:११ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


साउन २५,
मुगु : ‘हिमाली हीरा’ भनेर चिनिने हिमाली जिल्लाहरुमा पाइने बहुमूल्य जडिबुटी यार्सागुम्बा संकलन गरी बेचेर यहाँका स्थानीयले मुगुमा करोडौं भित्र्याएका छन्।

जिल्लाका मुगुम कार्मारोङ्ग गाउँपालिका, छायाँनाथ रारा नगरपालिका र सोरु गाउँपालिकाका बासिन्दाले यार्सागुम्बा बेचेर लाखौं रकम घरमा र करोडौं रकम गाउँमा आम्दानी गरेका हुन्।

देशभरि आर्थिक मन्दीले प्रभावित भइरहँदा मुगालीहरुले भने जडिबुटीबाटै करोडौं कमाउन सफल भएका छन्। गत जेठ ५ गते मुगुका २ दर्जनभन्दा बढी पाटनहरुमा यार्सा संकलन गर्न मुगुम कार्मारोङ्ग गाउँपालिकाले प्रवेश अनुमति खुला गरेको थियो।

मुगुका पाटन तथा हिमालमा यार्सा टिप्न मुगुका स्थानीयका साथै यो वर्ष दैलेख, जाजरकोट, जुम्ला, डोल्पा, कालिकोट, हुम्ला, मनाङ, मुस्ताङ, बाजुराबाट पनि संकलकहरु आएको यार्सा संकलक छोर्तेन लामाले बताए।

‘जेठ ५ देखि असार ५ सम्म यार्सा टिप्न गाउँपालिकाले समय तोकेको थियो त्यस वेला पानी र हिउँ परेकाले सोचे जस्तो यार्सा पाइएन तर असार ५ पछि मौसममा सुधार आउँदा पुनः मुगालीहरु यार्सा टिप्न पाटनमा पुग्दा धेरै यार्सा पाइयो‚’ लामाले भने।

छायाँनाथ रारा नगरपालिका वडा नं १२ का स्थानीय कम्बर ऐडीले यार्सा टिप्न पाटन गएका आफ्ना भाइबुहारीले २५ दिनमा यार्सा बेचेर साढे ४ लाख कमाएको बताए।

गाउँबाट यार्सा टिप्न जानेले २ लाख रुपैयाँभन्दा थोरै कसैले नल्याएको र यो हिसाबले आफ्नो लुम्स गाउँमा नै करिब ३० देखि ५० लाख रुपैयाँसम्म आम्दानी भित्रिएको हुनसक्ने अनुमान पनि उनले लगाए।

छायाँनाथ रारा नगरपालिका वडा नं १२ शोभा गाउँका बासिन्दा गणेशबहादुर सावतका अनुसार यार्सा बेचेर गाउँलेहरुले १ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन्।

हुन पनि मुगालीहरु वर्षभरि खान लाउन र आफ्ना दैनिक आवश्यकताको खर्च जोहो त्यही एक महिनामा यार्सा टिपेर बेचेको पैसाबाट गर्दै आएका छन्।

व्यापार, खेतीपाती र नोकरीभन्दा महिना दिनमै यार्सा टिपेर हुने आम्दानी गतिलो हुने भएपछि यो सिजनमा सबै काम थाँति राखेर यार्सा टिप्न गाउँका गाउँ नै खाली गरेर स्थानीयहरु पाटन जाने गर्छन्।

व्यापारीहरु पाटनमै पुगेर यार्सा संकलकहरुबाट यार्सा खरिद गर्ने भएकाले यार्सा बिक्री गर्न बजारको समस्या हुँदैन। पाटनमै टिप्ने उतै बेच्ने र बेचेपछि रकममात्र बोकेर घर फर्कने गर्छन्।

यस पटक पाटनमा यार्सा व्यापारीहरुले खाल्वा (ठूलो र राम्रो) यार्सालाई प्रति बुटी ८ सय रुपैयाँ र मध्यमलाई प्रति बुटी ४५० रुपैयाँसम्म दिएका थिए। खाल्वा यार्सा एक केजी पुग्न ३२ सयवटा बुटी र मध्यम यार्सा एक केजी पुग्न ४ हजारदेखि ४२ सयवटासम्म चाहिन्छ।

यार्सा बेचेर जिल्लाभरिका अधिकांश गाउँमा रकम भित्रिए पनि सबैभन्दा बढी मुगुम कार्मारोङ्ग गाउँपालिकाका सबै बस्ती र छायाँनाथ रारा नगरपालिका केही बस्तीमा आम्दानी भित्रिएको यार्सा संकलकहरु बताउँछन्।

मह गाउँमा नै यार्सा बिक्रीबाट ४ करोड रुपैयाँभन्दा बढी रकम भित्रिएको अनुमान गरिएको छ। माग्री, पाँपु, छाईल, चिमात, दाउरा, सेरोग, कार्ति, किम्री, डोल्फु, पुअ, मुगु, ताखा, खारी गाउँमा पनि कम्तिमा ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म रकम भित्रिएको मुगु गाउँका बासिन्दा छोर्तेन लामाले बताए।

उनले भने‚ ‘आफ्नो गाउँ मुगुमा मात्र गाउँलेले ३ करोडभन्दा बढी रकम यार्सा बेचेर कमाए।’

मुगुम कार्मारोङ्गमा पर्ने पुअ गाउँका छेवाङ्ग लामाका छोराबुहारीसहित ४ जनाले यार्सा बेचेर २१ लाख कमाएका छन्। यो गाउँमा मात्र यो सिजनमा गाउँलेले यार्साबाटै १ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको अनुमान छ।

नगरपालिकाका तल्लेख, झाकोट, बालचौर, रोवा, सोभा, लुम्स, घट्टलेख, जिउला, र्‍याङ्गच्याकाटी, थार्प, लुम, बाम, तिर्प, लह, लापुँ गाउँका बासिन्दाले पनि यार्सा बेचेर राम्रै आम्दानी गरेका छन्।

किम्री गाउँका कार्मा सेराप लामा भन्छन्‚ ‘भगवानले हाम्रा लागि हिमालमा यार्सा होइन हीरा उमारी दिएका हुन्। हामीलाई कस्ले हेर्थ्यो? यही यार्सा नभैदिएको भए हामी कसरी घरखर्च र बालबच्चाको पढाईलगायत अन्य खर्चको जोहो गर्थ्यौं? हाम्रो हालत के हुन्थ्यो? हाम्रो पावर, पहुँच थिएन।’

विकासका लागि गाउँमा आउने रकम टाठाबाठाले मात्र खाने गरेको गाउँलेको भनाइ छ। नोकरी पाउन कठिन र खेतीपाती गर्दा राम्रो उब्जनी नहुने त्यसमाथि वर्षैभरि जम्माजम्मी एक बालीमात्र उब्जने भएकाले आफूजस्ता गरिबका लागि यार्सागुम्बा वरदान सावित भएको कार्माले बताए।

उनले भने‚ ‘प्रत्येक वर्ष हामी ४ परिवार यार्सा टिप्न एक महिना पाटन जान्छौं‚ ६/७ लाख रुपैयाँ कमाएर ल्याउँछौं।’ कोरोनाकालमा २ वर्ष यार्सा टिप्न र बेच्न नपाउँदा कष्टपूर्वक काट्नु परेको तितो व्यथा पनि उनले सुनाए।

‘हिमालको हीरा टिप्न सोचे जस्तो सजिलो कहाँ छ र?‚’ मह गाउँका राप्के तामाङ्ग भन्छन्‚ ‘हिउँ पानीसँग खेल्नुपर्ने, चिसोबाट बचेर भोक प्यासको परवाह नगरि अग्ला अग्ला हिमाल र पाटनमा यार्सा खोज्दै चर्हानुपर्ने हुन्छ। पाटनमा विरामी भए मर्नुबाहेक विकल्प रहँदैन।’

​यति दुःखकष्ट सहेर यार्सा पाए पनि कहाँ सुख छ र? पाटनमा यार्सा लुटेराहरु बन्दुकसहित पुगेका हुन्छन् तिनीहरुबाट बचेर यार्सा बिक्री गर्नु र पैसा बोकेर सुरक्षित घर पुग्नु भनेको भनेको एउटा ठूलै युद्ध जित्नु भएको राप्के बताउँछन्।
मुगुका माजिङ्ग थान, ठूलो कोईकी, सानो कोईकी, छापाखोला, टाँके, रिमाड, हङ्गदङ्ग खोला, च्यार्कुलेख, छुमुरु, छुङ्गडुङ्ग, भावर खोला, असि पाटन, नयाँ वन, टाङ्गवाक, झोवा लेख, वाङ्गरी रमाना, धोवार खोला, च्याङ्गजीलगायत २ दर्जनभन्दा बढी पाटनमा यार्सागुम्बा पाइन्छ भने ठूलो कोईकी, सानो कोईकी, माजिङ्ग थान, भावर खोला, ठूलो ताक्ले र सानो ताक्लेमा पाटनमा पाइने यार्सागुम्बालाई असल मानिन्छ।

प्रत्येक वर्ष यार्सा पाटनमा हिउँ पहिरोमा, लेक लागेर र अन्य विमारी भएर, लुटेरा-संकलकबीच झडप हुँदा कम्तिमा ५ जनासम्मले ज्यान गुमाएको देखिन्छ यो वर्षमात्र पाटनमा हिउँपहिरोमा, नदीमा खसेर र विरामी परेर ५ जनाको मृत्यु भएको गाउँपालिकाले जनाएको छ।

यार्सा टिप्न पाटन प्रवेश शुल्कबाट गाउँपालिकाले ४५ लाख रुपैयाँ राजश्व उठाएको जनाएको छ।

वर्षेनि पाटनमा कुनै न कुनै यार्सा संकलकको मृत्यु हुने भएकाले यस वर्ष मृतकका परिवारको भरणपोषणमा सहयोग पुगोस् भनेर गाउँपालिकाले प्रवेश शुल्क तिरेर यार्सा टिप्ने जाने संकलकहरुको ५ लाख बराबरको यार्सा दुर्घटना बिमा गरिदिएको ​मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ्ग क्याप्ने लामाले बताए।
साभार:थाहा खबरबाट

२५ श्रावण २०८०, बिहीबार ०७:११  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस