प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भइरहेको बताएका छन् । राम कार्कीद्वारा लिखित ‘विकल्पः समता, समाजवाद र मुक्त दुनियाँ’ नामक पुस्तक प्रज्ञा भवन कमलादीमा शनिबार विमोचन गर्दै उनले परिवर्तनका वाहकलाई बदनाम गराउने प्रयास भइरहेको दाबी गरे ।
‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउनुपर्छ भन्ने पनि छन् । यो परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिराख्नुपर्छ भन्ने पनि छन् । परिवर्तन उल्ट्याउनेलाई फाइदा पुग्ने गरी हाम्रा गतिविधि, अभिव्यक्ति हुने कि परिवर्तनको रक्षा गर्नेमा उभिने भन्ने फैसला सबै क्रान्तिकारी र चिन्तकले गर्न जरुरी ठान्छु,’ प्रचण्डले भने ।
ad
मार्क्सवादको प्रयोग गरेर आफू अगाडि बढेको उनको भनाइ थियो । उनले वामपन्थी विचलनबाट संकट आएको हो कि दक्षिणपन्थीले पैदा गरेको हो भन्ने प्रश्न रहेको बताए । प्रचण्डले नेतृत्व जनता र इतिहासले जन्माउने तथा आन्दोलन र संघर्षको बीचबाट नेतृत्व जन्मिने गरेको बताए । विकल्प आएमा आफू नेतृत्व छोड्न तयार रहेकोसमेत उनले बताए । ‘म नेतृत्वमा रहेको नै ३५ वर्ष भइसक्यो । छोड्छु भन्दा पनि सुख छैन । तपाईंहरूले प्रचण्डले छाडिदिनुपर्छ र फलानो आउनुपर्छ भन्न सक्नुहुन्छ ? तपाईंहरूले भनिदिनुभयो भने म त खुसी हुन्छु । तर, परिस्थिति त्यस्तो छैन,’ उनले भने । यस्तै, प्रधानमन्त्री प्रचण्डले राज्यमाथि नियन्त्रण, निगरानी र हस्तक्षेप जति प्रभावशाली हुन्छ, लोकतान्त्रिक प्रणाली त्यति नै बलियो हुने बताएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिकाका पूर्वउपप्रमुख कविता ढुंगानाद्वारा लिखित पुस्तक ‘स्थानीय सरकारः अपेक्षा र अवस्था’ को शनिबार नै लोकार्पण गर्दै उनले सरकार र राज्यमाथि जनताको प्रत्यक्ष निगरानी जरुरी रहेको बताए ।
‘राज्यमाथि जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप भए मात्रै लोकतन्त्र बलियो हुन्छ । सरकार र राज्यमाथि जनताको प्रत्यक्ष निगरानी चाहिन्छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने जिम्मेवारी राष्ट्रिय कार्यभार हो । यतिवेला हामी संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने कानुन निर्माण गर्ने चरणमा छौँ’, प्रचण्डले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि नै प्रश्न उठाउने वेलावेलामा प्रयत्न हुने गरेको छ, यस्तो वेला स्थानीय सरकारलाई थप जनमुखी बनाएर व्यवहारबाट प्रतिक्रान्तिकारी सोच पराजित गर्न जरुरी छ ।’ प्रधानमन्त्रीले कतिपयमा संघीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेका ऐन, कानुन लागू राम्रोसँग नगरिदिने र यो व्यवस्था नै ठिक छैन भनेर फेरि पुरानै सामन्ती निरंकुशतातिर फर्काउन चाहने सोच देखापरेको बताए । नयाँ पत्रिका दैनिकबाट ।