|  

एनआरएनएको १९औँ महाधिवेशन आजबाट सुरु हुँदै : अध्यक्षमा चार जनाको उम्मेदवारी

३० आश्विन २०८०, मंगलवार ०७:२८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएको १९ औँ महाधिवेशन आजबाट सुरु हुँदैछ । होटल सोल्टी, ताहाचलमा आज दिउँसो साढे २ बजे सो महाधिवेशनको उदघाटन हुँदैछ। प्रत्येक दुई वर्षमा महाधिवेशन हुने गरेको छ ।

सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन भने कात्तिक ३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट समापन हुने संघले जनाएको छ । एनआरएनएले ११ औं महाधिवेशनलाई २० औं वर्षगाठ अवसरका रूपमा समेत मनाउँदैछ ।

सम्मेलनकै दौरानमा असोज ३० र कात्तिक १ गते विश्व ज्ञान सम्मेलन, युवा सम्मेलन र महिला सम्मेलन, वैदेशिक रोजगार तथा सामाजिक सुरक्षा कोष एवं नागरिकता ऐन तथा मताधिकार सम्बन्धमा विशेष सत्रको आयोजना गरिनेछ ।

यसैगरी कत्तिक २ गते एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुने एनआरएनएका प्रवक्ता सोम सापकोटाले बताए। उनका अनुसार पहिलोपटक ‘फेसियल भेरिफिकेशन’ मार्फत अनलाइन भोटिङ गर्न लागिएको निर्वाचनमा ५९ देशका चार हजार दुई सय २७ जना महाधिवेशन प्रतिनिधिले भाग लिनेछन् ।

संसारको जुनसुकै स्थानमा बसेर सजिलै मतदानमा भाग लिन सकिने व्यवस्था मिलाइएको तथा नेपालमा आएका मतदाताका लागि सम्मेलनस्थलमै अनलाइन भोटिङको व्यवस्था गरिएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

यस महाधिवेशनले अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ । अघिल्लो महाधिवेशनमा ६(६ महिना भाग लगाएर नेतृत्व सम्हालेका तीनमध्ये दुई अध्यक्षहरु बद्री केसी र रविना थापा यसपटक पनि प्रत्यासी छन् ।

अध्यक्षका प्रत्यासी बद्री केसी र महेश श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उता, राजेन्द्रकुमार शर्माले पनि अध्यक्षमा दावी गरेका छन्। एनआरएनएको यस महाधिवेशनले अध्यक्ष, एक महिला र युवासहित ८ उपाध्यक्ष, एक महासचिव, ६ सचिव र एक कोषाध्यक्ष सहित ७४ जना अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारी चयन गर्नेछ।

३० आश्विन २०८०, मंगलवार ०७:२८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस