|  

जाजरकोट भूकम्प अपडेट : जाजरकोट र रुकुममा गरी ६३ जनाको मृत्यु !

१८ कार्तिक २०८०, शनिबार ०६:२१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परि जाजरकोट र रुकुममा गरी ६३ जनाको ज्यान गएको पुष्टि भएको छ ।
बिहान ५ बजेसम्म प्राप्त विवरणअनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ । झण्डै सय जना घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्याल जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार जाजरकोटको नलगाढ नगरपालिकाकी उपमेयर सरिता सिंहको पनि ज्यान गएको छ । भूकम्पबाट भएको अरु क्षतिको बारेमा विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ । भूकम्पबाट धेरै घर भत्किएको अनुमान छ ।

रातिको समय भएकाले यकिन विवरण सङ्कलनमा कठिनाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जाजरकोट केन्द्र बनाएर गएराति गएको ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो ।

१८ कार्तिक २०८०, शनिबार ०६:२१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस