|  

भूकम्प प्रभावित क्षेत्रमा मौसम सफा : उद्धार र उडानमा समस्या नहुने

१८ कार्तिक २०८०, शनिबार ०९:३८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । भूकम्प प्रभावित क्षेत्रमा अहिलेको मौसम सफा छ । हिजो र अस्तिको तुलनामा आज कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा मौसम सफा छ ।
यसले भूकम्प प्रभावित क्षेत्रमा हुने उद्धार र उडानमा कुनै समस्या नहुने मौसमविद्ले बताएका छन् । जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएराति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो । भूकम्पले क्षति गरेको जाजरकोटसहितका जिल्लामा उद्धारका काम भइरहेका छन् ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार पश्चिम क्षेत्रको उच्च पहाडी र हिमाली क्षेत्रमा हिजोरअस्ति हल्का हिमपात र वर्षा भएको थियो तर आज मौसम सफा नै छ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । आज पूर्वी पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बाग्मती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहेको छ । ती क्षेत्रका एक दुई ठाउँमा हल्का वर्षाको सम्भावना पनि छ । साथै देशको उच्च पहाडी तथा हिमाली भागमा थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । बाँकी अरु ठाउँमा मौसम सामान्यतया सफा नै रहनेछ ।

१८ कार्तिक २०८०, शनिबार ०९:३८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस