|  

विश्वकप छनोट दोस्रो चरण:मंसिर पहिलो साता नेपालले यमनसँग खेल्ने

२१ कार्तिक २०८०, मंगलवार १३:०२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


फिफा विश्वकप २०२६ छनोट अन्तर्गत दोस्रो चरण र एएफसी एसियन कप २०२७ को छनोट अन्तर्गत पहिलो लेगमा नेपाल र यमन मंसिर पहिलो साता भिड्ने भएका छन्।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार पत्रकार सम्मेलन गर्दै खेलका लागि तयारी तीव्र पारिएको जानकारी दिएको हो।

नेपाल र यमनबीचको पहिलो लेग मंसिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ। खेल बेलुका ७ बजे सुरु हुनेछ।

नेपाल फिफा वरियताको १ सय ७३ औं स्थानमा छ। यमन भने वरियताको १ सय ५६ औं स्थानमा छ।

छनोट खेलका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले २६ सदस्यीय टोलीलाई प्रशिक्षण दिइरहेका छन्।

दोस्रो चरणको छनोटका लागि कर्मसियल र सम्पुर्ण मिडिया राइट्स सिंगापुरस्थित स्पोर्टस् फाइभलाई दिएको छ।

नेपाल र यमनबीचको खेल हेर्नका लागि साधारण प्यारापिटतर्फ ४ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ तोकिएको छ।

खेलको टिकटहरु सबै एन्फा आफैले बेच्नेछ। खेलका टिकटहरु खेल हुने दिन बिहान दशरथ रगंशाला परिसरमा नै विक्रि गर्ने एन्फाले जनाएको छ।

यमनले च्यासलस्थित च्यासल रंगशालामा प्रशिक्षणको व्यवस्था मिलाएको छ। प्रतियोगिता आयोजना गर्न ७३ लाख ६८ हजार ४ सय रुपैयाँ खर्च लाग्ने अनुमान एन्फाले गरेको छ।

 

२१ कार्तिक २०८०, मंगलवार १३:०२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस