|  

छुट्टाछुट्टै दुर्घटनामा धादिङ र बाग्लुङमा गरी तीन जनाको मृत्यु

२१ कार्तिक २०८०, मंगलवार १७:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


धादिङ । फरक फरक सवारी दुर्घटनामा धादिङ र बागलुङमा गरी तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार मोटरसाइकल दुर्घटनामा धादिङका एक र ट्याक्सी दुर्घटनामा परी बागलुङमा दुई जनाको ज्यान गएको हो ।
धादिङको निलकण्ठ नगरपालिका ९ तिनघरेमा पाल्पा भञ्ज्याङबाट धादिङबेशीतर्फ आउँदै गरेको बा प्र.०२००४ प ४०७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४६ वर्षीय राम बहादुर मगरको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धादिङबेशीमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पताल हुँदै थप उपचारको लागि मेडिकेयर अस्पताल चाबहिल पठाइएको छ ।
यता बागलुङको ढोरपाटन नगरपालिका २ मलकटिबाङस्थित सडकमा भिमगिठ्ठेबाट बुर्तिबाङतर्फ जाँदै गरेको ध १ज ९९४ नम्बरको ट्याक्सी सोमबार राति दुर्घटना हुँदा चालक ढोरपाटन नगरपालिका २ पाखुटे बस्ने २८ वर्षीय होम बहादुर पुन र ट्याक्सीमा सवार बडिगाड गाउँपालिका ६ छिसफाट बस्ने ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

२१ कार्तिक २०८०, मंगलवार १७:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस