|  

भूकम्पबाट झण्डै ३६ हजार परिवार घरबारविहीन

२२ कार्तिक २०८०, बुधबार १३:२७ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण झण्डै ३६ हजार परिवार घरबारविहीन भएका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार १७ हजार ८ सय ९६ घर पूर्ण रुपमा र १७ हजार ८ सय ५० घर आंशिक रुपमा भत्किएका हुन् ।

पूर्ण र आंशिक रुपमा घर भत्किएका परिवार खुला ठाउँमा बस्न बाध्य छन् । आंशिक रुपमा भत्किएका घरहरु पनि लगातारको परकम्पले भत्किने क्रम चलिरहेको छ । लगातारको परकम्पका कारण घर नभत्किएकाहरु पनि घर छाडेर सुरक्षित ठाउँमा बस्दै आएकाले भूकम्पका कारण विस्थापित हुनेहरुको संख्या अझै धेरै भएको पालिकाका जनप्रतिनिधिहरुले बताएका छन् ।

सबैभन्दा धेरै रुकुम पश्चिममा १६ हजार ५ सय ७० घर पूर्ण र नौ हजार ९ सय ६१ घर आंशिक रुपमा भत्किएका छन् । जाजरकोटमा एक हजार एक सय ७० घर पूर्ण र सात हजार १ सय ६६ घर आंशिक रुपमा भत्किएका छन् । सल्यानमा एक सय २९ घर पूर्ण र चार सय १८ घर आंशिक रुपमा भत्किएका छन् । यस्तै रुकुम पूर्व, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालिकोट, प्यूठान र अछाममा पनि घर भत्किएका छन् ।

भूकम्पका कारण जाजरकोटमा एक सय एक जना र रुकुम पूर्वमा ५२ जना गरी एक सय ५३ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । भूकम्पका कारण तीन सय ६४ जना घाइते भएका छन् । घाइतेमध्ये थप उपचारका लागि रिफर गरिएका ७४ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।

२२ कार्तिक २०८०, बुधबार १३:२७  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस