|  

धादिङमा देउसी भैलो बेलुका ९ बजेसम्म मात्रै खेल्न पाईने

२३ कार्तिक २०८०, बिहीबार १३:२४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । धादिङमा राती ९ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै राती ९ बजेपछि देउसी भैलो लगायतका कार्यक्रम गर्न रोक लगाएको हो।

सामाजिक तथा धार्मिक सद्भाव कायम गर्दै चाडपर्व सभ्य, सुरक्षित र मर्यादित रुपमा मनाउन प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले आग्रह गरेका छन् । उनले जारी गरेको सूचनामा देउसी भैलो राती ९ बजेसम्म खेल्न र असभ्य,अमर्यादित तथा सामाजिक सद्भाव खल्ल पुग्ने गरी कार्यक्रम नगर्न आग्रह गरिएको छ।

यस्तै मदिरा तथा मदिराजन्य पदार्थको बिक्री वितरण राती ९ बजेसम्म प्रचलित कानुन अनुसार अनुमति प्राप्त व्यवसायीले मात्रै गर्न पाउने सूचनामा उल्लेख गरिएको छ ।

यस्तै मेला,महोत्सव,प्रदर्शनी आदि स्थानीय प्रशासनको स्वीकृति लिई तोकिएका सर्तहरूको पालना गरेर मात्रै सञ्चालन गर्न भनिएको छ ।

अत्यावश्यक वस्तुहरुको कृत्रिम अभाव सृजना गर्ने,अस्वाभाविक मूल्य वृद्धि गर्ने,म्याद नाघेका, गुणस्तरहीन र अखाद्य सामग्री बिक्री वितरण गर्ने,अवैध चोरी निकासी गर्ने,आपूर्तिमा अवरोध पु¥याउने कार्य नगर्न,सवारी साधनमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु चढाउने,बढी भाडा नलिन प्रशासनले आग्रह गरेको छ । सूचनामा उल्लेखित विषयहरुको पालना नगरे प्रचलित कानुन अनुसार कारबाही हुने प्रशासनले जनाइएको छ ।

 

२३ कार्तिक २०८०, बिहीबार १३:२४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस