यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
देवकोटाको जन्म १९६६ कात्तिक कृष्ण औँसीका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो ।
१० वर्षको उमेरमा कविता लेख्न सुरु गरेका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन्।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित सबैभन्दा लोकप्रिय र बढी बिक्री भएको पुस्तक हो।
नेपाली साहित्यमा स्वच्छन्दतावादी र प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्किन्छ। उनमा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ।
विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्वपूर्ण योगदान दिएका थिए।
तीन महिनामा ‘शाकुन्तला’ महाकाव्य, दशदिनमै ‘सुलोचना’ महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी’ खण्डकाव्य लेखेका देवकोटामा तत्काल कविता लेख्नसक्ने क्षमता थियो। देवकोटाको कवि९प्रतिभा, कविताको गुणात्मक मूल्य र सङ्ख्यात्मक योगदान आज पनि अद्वितीय छ।
देवकोटाको निधन २०१६ सालमा भएको थियो।