यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । तिहारका लागि फूलमाला बिक्रीका लागि काठमाडौं महानगरपालिकाले चार स्थान तोकेको छ। भृकुटीमण्डप,तीनकुने,हाँडीगाउँ र बालाजु कोल्ड स्टोर छेउ स्वदेशमा उत्पादित फूल बिक्रीका लागि तोकेको हो।
शनिबार महानगरपालिका,स्वदेशी फूल उत्पादक र बिक्रेताबीच छलफल भएपछि फूल बिक्रीका लागि निश्चित स्थान तोकिएका हुन्। तोकिएकै स्थानबाट फूल बिक्री गर्न महानगरपालिकाले कडाइ गरेको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले उपभोक्तालाई महानगरपालिकाले व्यवस्थापन गरेको स्थानमा आएर स्वदेशी फूल र माला खरिद गर्न अनुरोध गरेका छन्।
फूल बिक्रीका न्यूरोड,असनलगायत फूटपातमा माला बिक्रीका लागि पुगेकाहरूलाई महानगर प्रहरीले नियन्त्रणमा लिइ तोकिदिएको स्थलमा पुर्याइदिएको छ। तिहार लक्षित फूल र माला लिएर बेच्न आएका किसानहरु न्यूरोडसहित सहरका विभिन्न ठाउँ पुगेका थिए । उनीहरूलाई बिक्री स्थल थाहा नभएकाले सवारी साधनमा राखेर बिक्री स्थलमा पुर्याएको महानगरले जनाएको छ।
सवारी साधनमा फूल राख्न तथा झार्नका लागि नगर प्रहरीले सघाएको छ । न्यूरोड सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डप सारिएको छ । यसबाट सो क्षेत्रमा सवारी आवागमन खुकुलो भएको महानगर प्रहरीले जनाएको छ।
महानगरले तोकिएकै स्थानाट फूल बिक्री गर्न अनुरोध गरेको छ। यसका लागि महानगरपालिका,नेपाल फ्लोरिकल्चर एशोसिएसन र चेम्बर अफ कमर्शको संयुक्त टोलीले अनुगमन गर्ने महानगरले जनाएको छ।