|  

भूकम्प प्रभावित क्षेत्रमा अस्थायी संरचना निर्माण गरी पठनपाठन थाल्ने तयारी

४ मंसिर २०८०, सोमबार १४:५१ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । जाजरकोट र रुकुम पश्चिममा गएको कात्तिक १७ गते गएको भूकम्पबाट भत्किएका विद्यालयमा अस्थायी संरचना निर्माण गरेर विद्यालय खोल्ने तयारी शुरु गरिएको छ । भूकम्पले क्षति पुर्याएको विद्यालयमा चाडपर्व सकिएसँगै सामुदायिक र निजी विद्यालयमा पठनपाठन शुरु हुन लागेको हो ।

रुकुम पश्चिम र जाजरकोटमा अस्थायी संरचना निर्माण कार्य जारी रहेकाले पढाइ शुरु गर्न लागिएको हो । ती जिल्लाका केही पालिकाका विद्यालयमा मङ्गलवार भोलिदेखि नै पठनपाठन शुरु हुने भएको छ भने केही पालिकाका विद्यालयमा टहरा बनाएर पठनपाठन थाल्ने तयारी भइरहेको छ ।

कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार जाजरकोटको नलगाड नगरपालिकामा पनि मङ्गलवारदेखि नै पठनपाठन शुरु हुने भएको छ । जाजरकोटको यस नगरपालिका भूकम्पबाट अधिक प्रभावित क्षेत्र हो ।

नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलवीर विकका अनुसार भूकम्पबाट ५४ विद्यालयमा क्षति पुगेको छ । जसमा १२८ कक्षाकोठा पूर्णरूपमा क्षति पुगेको छ । नलगाड नगरपालिका शिक्षा शाखाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकले आंशिकरूपमा क्षति भएका विद्यालयमा भोलिदेखि नै पठनपाठन थालिने जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापकले विद्यालय सञ्चालन हुने भएकाले सबै शिक्षक विद्यालयमा आउन आग्रह गर्दै सूचनासमेत प्रकाशित गरेका छन् । अस्थायी टेन्ट निर्माण भइसकेकाले निरन्तर पढाइ हुने भन्दै पञ्च भयार माविका प्रधानाध्यापक नरेन्द्र केसीले विद्यालयमा आउन आग्रह गनुभयो ।

ुक्षति नभएका विद्यालयमा भोलिदेखि नै पठनपाठन हुन्छ, पूर्णरूपमा क्षति भएको विद्यालयमा पनि अस्थायी सिकाइ केन्द्र निर्माण गर्ने तयारी भइरहेको छ, केही दिन चाहिँ समय लाग्ला । बनिसकेपछि पढाइ हुन्छु, उहाँले भन्नुभयो ।

सामाजिक विकास कार्यालय जाजरकोटका प्रमुख यज्ञबहादुर खत्रीले भूकम्पबाट प्रभावित सबै विद्यालयमा पठनपाठन थाल्न पहल गरिरहेको बताउनुभयो ।

४ मंसिर २०८०, सोमबार १४:५१  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस