यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । आजकल अधिकांश मानिसमा ढाड अर्थात कम्मरको दुखाइ छ । चिसो मौसममा त यस्तो समस्या झन धेरै हुन्छ । कम्मर, ढाड अर्थात् पिठ्यू जो शरीरको खम्बा हो त्यसले पूरै शरीरलाई सिधा रहन र दायाँबायाँ फर्कन सहयोग गर्छ ।
कम्मरमा हुने लचकताले नै शरीर बलियो र लचिलो हुने गर्दछ । तर अधिकाशं मानिस कम्मर दुखाईका कारण निकै असहज जीवनयापन गर्न बाध्य हुने गरेका छन् ।
किन दुख्छ ?
यसरी कम्मर दुख्नुको मुख्य कारण भनेको मानिसको अब्यवस्थित जीवनशैली र खानपान नै हो । सामान्यतया कम्मरमा असर पर्ने काम गरेमा, धेरैबेर निहुरिएमा, अगाडि पछाडि धेरै झुकेमा, भारी सामान बोकेमा, गर्धन झुकाएर बसेमा र सुताई नमिलेमा पनि कम्मर दुख्ने गर्दछ ।
यसका अलावा एकैनासको बसाईमा सवारी चलाउँदा, मोटोपनाले नसा च्यापिदाँ, उचाई अनुसार तौल नमिल्दा कम्मर दुख्ने गर्दछ । यसरी दुख्ने कम्मर कसैको बीच भागमा त कसैको दायाँ भागमा दुख्ने हुन्छ ।
कम्मर दुख्दा खुट्टासम्म झमझम गर्ने र धेरै दुखेमा खुट्टाले टेक्न ग्राहो समेत हुन्छ ।
कसरी कम गर्ने ?
कम्मर दुःखाई हुन नदिन उचित आहार तथा जीवनशैली व्यवस्थित हुनुपर्छ । सकेसम्म दैनिक आधा घण्टा विश्राम गर्नुपर्छ ।
लामो समय काम गरे पछि केहिबेर आराम गर्नुपर्छ । असहज बसाईपछि हातगोडा तन्काउने तथा केहि बेर हिडडुल गर्नुपर्छ । यसो गर्नाले ढाड, पाता, गर्धन र कम्मरका नसा सिधा हुन्छन् ।