काठमाण्डौँ । जाजरकोटको नलगाड नगरपालिका–३ चावले चौरको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कक्षा पाँचमा पढ्ने धनबहादुर पुन भूकम्प गएको १९ दिनपछि हिजो मंसिर ६ गते विद्यालय पुग्नुभयो । उहाँ एकदिन अगाडि पनि स्कुल आउनु भएको थियो । तर, अस्थायी संरचना बन्दै गरेकोले ६१ जनामध्ये त्यसदिन स्कुल आएका १३ जना सबै फर्किए ।
असोज १७ गतेको भूकम्पले उहाँ पढ्ने राष्ट्रिय प्रावि बस्नै नहुने गरी चर्किएको छ । कहाँ बस्ने, के गरी पढ्ने भन्ने कुरा लागेको थियो उहाँलाई । तर, भूकम्पपछि बनेका अस्थायी संरचना देखेपछि उहाँलाई यही हो स्कुल भन्ने लाग्यो ।
उहाँ भन्नुहुन्छ, ‘बस्नै नहुने स्कुलमा कसरी पढ्ने भन्ने थियो । साना छाप्रा रहेछन् । अहिले पनि फेरि भूइँचालो फेरि आउँछ कि भनेर डर पनि लागिराछ । साथीहरुसँग भेट्दा रमाइलो पनि लागिरहेको छ । सरहरुले भूकम्प आउँदा घर भित्र नबस्नु बाहिर बस्नु भन्नुभाछ ।
उहाँको घर पनि भूकम्पले चर्किएका कारण अहिले बाहिर पालमा बसिरहनु भएको छ । तर, घर नभत्किएकोले कापी, किताब भने पुरानै प्रयोग गर्न सकिएको उहाँ बताउनुहुन्छ । असोज १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोटका चार सय २३ विद्यालयमध्ये तीन सय ४१ विद्यालय क्षतिग्रस्त भएका छन् । एक हजार पाँच सय ९९ कक्षाकोठामा क्षति पुगेको छ । भूकम्पका कारण २४ जना विद्यार्थी तथा एक जना शिक्षकको ज्यान गएको छ ।
त्यस्तै, भूकम्पका कारण रुकुम पश्चिमका तीन सय आठ वटा विद्यालयमध्ये ५२ वटा विद्यालयमा पूर्णरुपमा क्षति पुगेको छ भने ७० वटा विद्यालयमा आंशिक क्षति पुगेको छ । त्यस्तै, पाँच सय ६७ कक्षा कोठामा क्षति पुगेको छ । भने १८ जना विद्यार्थीले भूकम्पका कारण ज्यान गुमाएका छन् ।
भूकम्प प्रभावित जाजरकोट तथा रुकुम पश्चिमका धेरै विद्यालयमा पढाइ शुरु भएको छ । तर, अस्थायी संरचना भएकाले पठनपाठन गर्न भने सहज छैन । कतिपय विद्यालयको अस्थायी संरचना पनि तयार हुँदै गरेकाले विद्यार्थीहरु खुला आकाशमुनि बसेर पढ्न बाध्य छन् ।
भूकम्पका कारण स्कुलभित्र बसेर पढ्ने अवस्था नभए पनि पालिका, दातृ निकाय साथै स्थानीयको जनश्रमदानका कारण अस्थायी संरचना बनाउँदै पठनपाठन शुरु गरिएको छ । नेपाल राष्ट्रिय प्राविका व्यवस्थापन समितिका अध्यक्ष हेमकुमार विष्टका अनुसार प्रशासनिक तथा पठनपाठनका लागि दुई वटा भवन रहेको विद्यालयको प्रशासनिक भवन भने पूरै भत्किएको छ । पठनपाठन गर्ने ६ कोठाको भवन भने चर्किएको छ । भित्र जान सक्ने अवस्था छैन ।
उहाँका अनुसार ६१ जना विद्यार्थी रहेको विद्यालयमा अस्ति मङ्गलवार १३ जना विद्यार्थी पढ्न आएका थिए । तर, पहिलो दिन विद्यार्थी पनि थोरै आएको अनि अस्थायी संरचना बन्दै गरेकोले पढाइ भएन । हिजो बुधवारदेखि भने पढाइ शुरु भएको छ ।
सबै विद्यार्थीहरुलाई चर्किएको भवनभित्र नजान र अबदेखि बाहिर बनेको अस्थायी संरचनामा बसेर पढ्नुपर्ने बारेमा जानकारी गराएको पनि उहाँले बताउनुभयो । यसका बारेमा सबै अभिभावकलाई पनि जानकारी गराइसकेको उहाँको भनाइ छ ।