यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । काठमाण्डौको बबरमहलमा पैदलयात्रु आफैँले बटन थिचेर बाल्ने ट्राफिक बत्ती सञ्चालनमा आएको छ । काठमाण्डौ जिल्ला अदालत अगाडिको सडकमा राखिएको यस किसिमको ट्राफिक बत्ती नेपालमा नै पहिलो हो ।
काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलका अनुसार पेलिकन क्रसिङ भनिने यस ट्राफिक बत्तीमा स्विचको बटन थिचेपछि ५ सेकेन्डमा हरियो बत्ती बल्ने र तोकिएको ३० सेकेन्डभित्र पैदलयात्रुले जेब्रा क्रसिङ बाट बाटो काटिसक्नुपर्ने हुन्छ ।
पोलमा राखिएको बटन थिच्दा गाडी आइरहेकोतिर रातो र बटुवा उभिएको सडक छेउपट्टि हरियो बत्ती बल्छ । एकपटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र त्यसपछि दुई मिनेटसम्म फेरि बटन थिच्दा बत्ती नबल्ने गरी मिलाइएको छ । यात्रुको चापअनुसार समयको सेटिङमा केही फेरबदल गर्न सकिने काठमाण्डौ महानगरपालिकाले जनाएको छ । ट्राफिक प्रहरीले जथाभाबी बटन नथिच्न र सकेसम्म ८ र १० जना यात्रु जम्मा भइसकेपछि मात्रै बटन थिचेर सडक पार गर्न अनुरोध गरेको छ ।
यस ट्राफिक बत्तीले बबरमहल क्षेत्रमा हुने गरेको दुर्घटनामा कमी ल्याउने बाटो काट्दै गर्नुभएका अधिवक्ता यज्ञमणि न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार अदालतका कर्मचारी फाइल बोकेर बाटो काट्ने क्रममा दुर्घटनामा परेपछि स्वतन्त्र कानुन व्यवसायी मञ्चका १७ जना कानुन व्यवसायीले काठमाण्डौ महानगरलाई अनुरोध गरेपछि यहाँ ट्राफिक बत्ती जडान गरिएको हो ।
काठमाण्डौ महानगरपालिकाको १० लाख रुपैयाँको लागतमा यो ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको हो । बबरमहलबाहेकका अरू ठाउँमा पनि यस प्रकारको ट्राफिक बत्ती जडानको तयारी भइरहेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका अनुसार मुख्य सडक आसपास रहेका स्कुल तथा सडक पार गर्ने विद्यार्थीको सङ्ख्या बढी हुने ठाउँमा यस प्रकारको बत्ती राखिनेछ ।