यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ ।
प्लान्ट क्वरेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०र८१ को साउन, भदौ र असोजमा भारतबाट ४७ करोड ९७ लाख ६० हजार रुपैयाँ बराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ ।
त्यही अवधिमा नेपालबाट ९ नौ करोड ६५ लाख ७२ हजार आठ सय रुपैयाँ बराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताउनुभयो । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महिनामै ३८ करोड ३१ लाख ८७ हजार दुई सय रुपैयाँ बराबरको व्यापार घाटा भएको छ ।
नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेँडा छन् । यीमध्ये सबैभन्दा बढी नौ करोड ५४ लाख ७२ हजार रुपैयाँ बराबरको पाँच हजार नौ सय ६७ मेट्रिक टन बन्दाकोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिनुभयो ।
यसैगरी तरकारीमा गोलभेँडा पाँच लाख १२ हजार रुपैयाँ बराबरको २६ मेट्रिक टन र पाँच लाख ८९ हजार रुपैयाँ बराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेँडा भारत निर्यात हुने गरेको छ ।