यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरल र सहज रुपमा सुविधा उपलब्ध गराउन सामाजिक शुरक्षा कोषलाइ निर्देशन दिनु भएको छ ।
राजधानीमा सोमबार आयोजित छैठौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सेवाग्राहीलाई सहज सेवा प्रदानका लागि कोषको व्यवस्थापकीय पक्षलाई सुदृढ तुल्याउनसमेत निर्देशन दिनु भएको हो ।
सामाजिक न्याय कार्यान्वयनको महत्त्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकाङ्क्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषय भएको उल्लेख गर्नुभयो ।
संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्त्वपूर्ण आयाम सामाजिक न्याय भएको प्रधानमन्त्रीको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले कोषबाट सञ्चालित योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको अनिवार्य कार्यान्वयन र सफलतामा सरकारले आफ्नो सफलता देखेको बताउनुभयो।
सम्पूर्ण नागरिकहरुको कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा कोषलाई विकास गराउन तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सबै नागरिकसम्म पुर्याउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै पनि कमिहुन नदिने प्रधानमन्त्रीको प्रतिवद्धता जनाउनु भएको छ ।