|  

चिनी मिलको प्रदूषण घटाउन माग गर्दै आन्दोलन

१२ मंसिर २०८०, मंगलवार १२:५५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । लुम्बिनी चिनी मिलको प्रदूषण न्यूनीकरण गर्न माग गर्दै स्थानीय बासिन्दाहरु आन्दोलित भएका छन् ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदूषणले जनस्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै सुनवलवासी आन्दोलित भएका हुन् ।

सुनवलका स्थानीय बासिन्दाले लुम्बिनी चिनी उद्योग प्रदूषण नियन्त्रण सङ्घर्ष समिति गठन गरी पत्रकार सम्मेलनमार्फत मागबारे जानकारी दिएका हुन् । वि सं २०४६ सालमा तत्कालीन सरकार र चीन सरकारबीच भएको सम्झौताअनुसार जिल्लाको सुनवल नगरपालिका १ मा लुम्बिनी चिनी कारखाना लिमिटेडको स्थापना भएको थियो । यो समयदेखि सञ्चालनमा रहेको चिनी मिल २०६२ सालमा निजीकरण भएदेखि झनै प्रदूषणको अवस्था बढ्दै गएको स्थानीय बासिन्दाहरु बताउँछन् ।

चिनी मिल सञ्चालकले मिलको प्रदूषण न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग नगरेकाले मिल र डिष्टिलरीबाट निस्किने धुवाँ, खरानीले बजार प्रदूषित भएको उनीहरुको भनाइ छ । डिष्टिलरीबाट निस्किने दूषित फोहर पानीले सुनवल बजार नै दुर्गन्धित भइ मानिसको स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पारिरहेको सङ्घर्ष समितिका उप संयोजक टेकप्रसाद न्यौपानेले बताउनु भयो ।

चिनी मिलले विगत वर्षदेखि नै मिलबाट प्रदूषण न्यूनीकरणका लागि विभिन्न सहमति सम्झौता गरे पनि अहिलेसम्म कार्यान्वय गरेको छैन । मिल सञ्चालकले उद्योगबाट निस्किने धुवाँ, खरानी र फोहर दूषित पानी न्यूनीकरणका लागि कुनै उपाय नअपनाउँदा सुनवलवासी त्यसको प्रत्यक्ष मारमा परिरहेका सङ्घर्ष समितिका संयोजक युवराज ढकालले बताउनु भयो ।

८६ बिगाहा क्षेत्रफलमा फैलिएको यो चिनी मिलमा चिनी मिल, स्प्रिट प्लान्ट र रक्सी उत्पादन प्लान्ट गरी ३ वटा कारखाना सञ्चालनमा छ । मिलबाट निस्किने धुवाँ र खरानी उडेर घरहरुमा पस्ने र सुकाएको कपडामा टाँसिएर फोहर हुनुकासाथै श्वास लिन समेत अप्ठ्यारो बनाएको उनीहरुको भनाइ छ । उता डिस्टिलरीबाट निस्किने प्रदूषित पानी सिधै खोलामा मिसाउँदा बजार नै दुर्गन्धित हुँदै गएको सङ्घर्ष समितिको आरोप छ।

१२ मंसिर २०८०, मंगलवार १२:५५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस