|  

कोप–२८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज यूएई जाँदै

१३ मंसिर २०८०, बुधबार १२:३३ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८  मा सहभागी हुन आज संयुक्त अरब इमिरेट्स यूएई जाँदै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्डसहित नेपाली प्रतिनिधिमण्डल आज राति १० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । नेपाली टोलीमा वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोलगायत अन्य उच्चाधिकारी सहभागी हुनेछन् ।

कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित देशहरुको तर्फबाट नेपालले अध्यक्षतासहित प्रतिनिधित्व गर्दैछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमणको सम्पूर्ण तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यूएईको दुबइमा भोलि सम्मेलनको उद्घाटन समारोह हुँदैछ । आयोजक यूएईले सम्मेलनको अध्यक्षता गर्नेछ ।

कोप–२८ मा नेपालले जलवायु वित्तदेखि हिमालका मुद्दासम्मका विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । भोलिदेखि १३ दिनसम्म चल्ने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड भोलि र पर्सि आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलनको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुने कार्यसूची रहेको मन्त्रालयले जानकारी दिएको छ ।

उहाँले शुक्रवार सत्रलाई सम्बोधन गर्नुहुनेछ । प्रधानमन्त्री प्रचण्डले शुक्रवार नै ‘कल अफ दी माउन्टेन हु सेभ अस फ्रम दी क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउनुहुनेछ । यो सत्रमा उहाँले पर्वतीय क्षेत्रमा जलवायु परिवर्तन र तापक्रमको असर बुझ्न र हेर्नका लागि अपिल गर्नुहुने तयारी छ ।

प्रधानमन्त्री प्रचण्डले सम्मेलनका क्रममा सहभागी विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवम् उच्चस्तरीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता पनि गर्नुहुनेछ । साथै उहाँले यूएईमा हुन लागेको नेपाल–यूएई व्यापार सम्मेलनमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । नेपाली टोली शनिवार स्वदेश फर्किने छ ।

१३ मंसिर २०८०, बुधबार १२:३३  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस