|  

जाजरकोट र रुकुमपश्चिममा पठनपाठन सहज हुन सकेन

१६ मंसिर २०८०, शनिबार १३:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा अस्थायी सिकाइ केन्द्रमार्फत पठनपाठन शुरु भए पनि सहज हुन सकेको छैन ।

भूकम्पका कारण विद्यालय भवनमा क्षति पुगेपछि प्रभावित ती जिल्लाका हजारौँ विद्यार्थी अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चौरमा बसेरै पठनपाठन गर्न बाध्य छन् । सिकाइ केन्द्रमा बसाइँ व्यवस्थापन तथा अध्ययन गर्न विगतमा जस्तो सहज नभएको विद्यार्थीको गुनासो छ ।

गएको मंसिर ४ गतेदेखि नै पठनपाठन शुरु भएको हो । तर शिक्षक विद्यार्थीमा भूकम्पको त्रास अझै हटिसकेको छैन भने विगतमा जस्तो सहज वातावरण पनि छैन । कतिपय विद्यार्थीको शैक्षिक सामग्री पुरिएका छन् । कापीकिताब पुरिएकाहरु रित्तै विद्यालय जाने गरेका छन् ।

जाजरकोट र रुकुम पश्चिममा झण्डै १४ हजार बालबालिकाले पाठ्यपुस्तकविना नै पढ्नुपर्ने बाध्यता छ । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–१४ जामिरकोटकी कक्षा ८ मा पढ्ने सिन्दु मल्लले पढ्न लेख्न मन नलाग्ने र भूकम्पकै डरत्रास हुने गरेको बताइन् । मल्ल जनविकास माध्यमिक विद्यालयमा पढ्नुहुन्छ ।

जनविकास माध्यमिक विद्यालयमा सात वटा अस्थायी सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन शुरु गरिएको छ । अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन शुरु भए पनि विद्यार्थीको व्यवस्थापन तथा सिकाइमा समस्या हुने गरेको प्रधानाध्यापक दीपकसङ्गम थापा बताउनुहुन्छ । भूकम्पका कारण जनविकास माविमा अध्यनरत तीन जना विद्यार्थीले ज्यान गुमाएका छन् ।

त्यस्तै, रुकुम पश्चिमकै आठबीसकोट नगरपालिकामा एक सय ३९ अस्थायी सिकाइ केन्द्रबाट पठनपाठन भैरहेको छ । विद्यालयका भवनमा क्षति भएपछि अस्तव्यस्त हुँदा विद्यार्थीलाई पुरानैलयमा ल्याउन अस्थायी सिकाइ केन्द्र तथा खुल्ला चौरमा राखेर सामान्य खालको पठनपाठनसँगै मनोसामाजिक परामर्श दिने गरिएको आठबीसकोट नगरपालिकाका मेयर रवि केसीले जानकारी दिनुभयो ।

 

१६ मंसिर २०८०, शनिबार १३:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस