|  

म्याग्दीको घोडेपानी र पुनहिलमा पर्यटकको संख्या बढ्दै

१८ मंसिर २०८०, सोमबार १२:४८ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । राउण्ड अन्नपूर्णको प्रमुख पर्यटकीय स्थल मानिएको म्याग्दीको घोडेपानी र पुनहिलमा पछिल्ला चार महिनामा १२ हजारभन्दा बढी विदेशी पर्यटकहरु भित्रिएका छन् ।
गत साउनदेखि मंसिरको पहिलो सातासम्म घोडेपानी र पुनहिल क्षेत्रमा १२ हजार ३ सय ६१ जना विदेशी पर्यटकहरुले भ्रमण गरेको पर्यटक प्रहरी कार्यालय घोडेपानीले जनाएको छ ।
घोडेपानी अन्नपूर्ण चक्रिय पदमार्गमा आउने पर्यटकहरुको रोजाईमा पर्ने गरेको छ । पहिले विदेशी पर्यटकहरुको तथ्याङ्क मात्रै राख्ने गरिएकोमा पछिल्लो समय पैदलमार्ग हुँदै आउने आन्तरिक पर्यटकहरुको समेत तथ्याङ्क राख्ने गरिएको छ ।
घोडेपानीमा पर्यटक याममा मासिक दुईदेखि तीन हजारजम्म आन्तरिक पर्यटकहरुले समेत भ्रमण गर्छन् । असोजदेखि मंसिरसम्म र फागुनदेखि जेठसम्म घोडेपानीमा धेरै पर्यटकहरु आउने गर्छन् ।
समुद्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ । पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न सकिन्छ । यहाँबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका दर्जनबढी हिमाल र दर्जनौँ हिमचुचुरालाई नजिकबाट अवलोकन गर्न सकिन्छ ।

१८ मंसिर २०८०, सोमबार १२:४८  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस