|  

काठमाण्डौ महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन

२० मंसिर २०८०, बुधबार १२:५६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । काठमाण्डौ महानगरपालिकाले कानुनअनुसार औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरका मेयर बालेन्द्र शाहले दर्ता नभएका औषधि पसललाई नियमानुसार आउँदो मङ्सिर २९ गतेभित्र दर्ता हुन तथा डाक्टरको सिफारिस प्रेस्किप्सन अनुसार मात्रै औषधिको कारोबार गर्न आज बुधवार सामाजिक सञ्जालमार्फत निर्देशन दिनुभएको छ ।

मेयर शाहले महानगरभित्र सञ्चालनमा रहेका कतिपय औषधि पसल दर्ता नभएका, अनधिकृत व्यक्तिबाट औषधि बिक्री भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिसमेत बिक्री गरेको र डाक्टरको सिफारिस प्रेस्किप्सन विना औषधि बिक्री भइरहेको लगायतका गुनासा आइरहेका उल्लेख गर्नुभएको छ । महानगर आमनागरिकको स्वास्थ्यका लागि संवेदनशील रहेको भन्दै उहाँले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न सुधारात्मक काम गर्दै आएको बताउनुभएको छ । सुधारका प्रयास भइरहे पनि जनस्वास्थ्यमा लापर्बाही भएको भेटिएको मेयर शाहको भनाइ छ ।

२० मंसिर २०८०, बुधबार १२:५६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस