|  

आजदेखि काठमाडौँमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु

२० मंसिर २०८०, बुधबार १३:०६ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागितामा आजदेखि काठमाडौँमा दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ।

निर्वाचन आयोग र ‘एसियन नेटवर्क फर फ्रि इलेक्सन’को आयोजनामा भएको उक्त छैठौँ सम्मेलनको ‘एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरम’को उद्घाटन परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्नुभयो । उहाँले नेपालको संवैधानिक प्रावधानबमोजिम स्वायत्त निर्वाचन आयोग रहेको र यसले दुई कार्यकालका लागि तीनै तहका निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो ।

परराष्ट्रमन्त्री साउदले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि प्राप्त सुझावका आधारमा विद्यमान कानुनमा सुधार गर्न आफूहरु तत्पर रहेको सुनाउनुभयो । “निर्वाचनका अनुभव र सिकाइका आधारमा लोकतन्त्र सबल बनाउन र निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक छ ।’’ उहँले निर्वाचनको स्वच्छताका लागि सुरक्षा, सामाजिक न्याय, जलवायु परवर्तन, कृत्रिम बौद्धिकता, सामाजिक सञ्जाल आदि चुनौती र अवसरका रुपमा रहेकाले सम्मेलनले यी विषयमा गहन छलफल गरी निष्कर्ष निकाल्ने विश्वास व्यक्त गर्नुभयो ।

भारतीय निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त डा शाहबुद्धिन याकुब क्युरासीले असल निर्वाचन प्रक्रियाले मात्रै लोकतन्त्रलाई सबल नबनाउने उल्लेख गर्दै समानुपातिक प्रतिनिधित्व र जनतालाई राज्यबाट दिइने सेवाको सुनिश्चितता हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मिश्रित निर्वाचन प्रणाली र निर्वाचन आयुक्तको नियुक्तिमा संसदीय सुनुवाइ हुने व्यवस्था भारतले पनि सिक्नलायक भएको बताउनुभयो ।

२० मंसिर २०८०, बुधबार १३:०६  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस