यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । गाजामा जारी युद्धको गम्भीरतालाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ९९ लागू गरेका छन् ।
यो धारा संयुक्त राष्ट्रसंघको सबैभन्दा महत्त्वपूर्ण र शक्तिशाली प्रावधान हो । यस अन्तर्गत संयुक्त राष्ट्रसंघका महासचिवले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई खतरामा पार्न सक्ने कुनै पनि मुद्दामाथि सुरक्षा परिषदको ध्यानाकर्षण गराउन सक्छन् ।
संयुक्त राष्ट्रसंघले गाजामा युद्धका कारण भइरहेको मानवीय विपत्तिका बारेमा केही सातादेखि चेतावनी दिंदै यसलाई रोक्न अपिल गर्दै आएको छ । अन्ततः बुधबार एन्टोनियो गुटेरेसले सबैभन्दा शक्तिशाली सङ्कटको संकेत गर्दै सदस्यको ध्यानाकर्षण गराएका हुन् ।
गाजाको मानवीय संकप्रति शक्ति राष्ट्रहरूको ध्यान केन्द्रित गराउँदै युद्धविराम गर्न यो कदमले भूमिका खेल्न सक्नेछ ।
युएन काउन्सिलका अधिकांश सदस्य युद्धविरामको समर्थनमा छन् तर इजरायलको नजिकको सहयोगी र संयुक्त राष्ट्रसंघमा भिटो अधिकार रहेको अमेरिका युद्धविरामको पक्षमा छैन ।
गुटेरेसले गाजामा सार्वजनिक व्यवस्था पूर्ण रूपमा ध्वस्त भइरहेको उल्लेख गर्दै यो पहिलेको जस्तो अवस्थामा फर्किन निकै गाह्रो देखिने उल्लेख गरेका छन् ।
यस संकटलाई थप बिग्रनबाट रोक्न र अन्त्य गर्न आफ्नो सबै शक्ति अन्तर्राष्ट्रिय समुदायले प्रगोग गर्नुपर्नेमा जोड दिंदै उनले युद्धविरामका लागि पहल गर्न आग्रह गरेका छन् ।
बुधबार नै संयुक्त राष्ट्रसङ्घका मानव धिकार प्रमुखले गाजापट्टीका प्यालेस्टाइनीहरू ‘अत्यन्तै गम्भीर त्रास’ मा बाँचिरहेको बताउँदै इजरायल र हमासबीच तत्काल युद्धविराम गर्न आह्वान गरेका थिए ।