|  

काठमाण्डौंमा आलु र प्याजको बिक्री ठप्प

२२ मंसिर २०८०, शुक्रबार ११:३५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । सरकारले आयातीतसँगै स्वदेशी आलु प्याजमा पनि भ्याट लगाएपछि व्यापारीले काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प पारेका छन् ।

आलु प्याज व्यापारीले भ्याटको विरोध गर्दै आयात रोकेपछि बजारमा आलु र प्याजको अभाव भएको छ भने यसको फाइदा लिँदै कृत्रिम मूल्यवृद्धि गरिएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य नतोकेपछि मनोमानी रूपमा कृत्रिम मूल्यवृद्धि गरिएको हो ।

आलु र प्याजमा मूल्य अभिवृद्धि कर भ्याट लगाउने सरकारको निर्णयविरुद्ध व्यापारीले बिक्री बन्द गरेपछि कालिमाटीले मूल्य नतोकेको जनाएको छ ।

आयातीत मात्र नभई स्वदेशी आलु र प्याजमा पनि भ्याट तिर्नुपर्ने अव्यावहारिक निर्णयका कारण व्यापारीले विरोध गरेका हुन् ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा आलु–प्याज बिक्री गर्दा भ्याट बिल जारी गर्न कडाइ गरेपछि व्यापारी विरोधमा उत्रेका हुन् ।

सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत आयातीत आलु प्याजमा भ्याट लगाउने प्रावधान बनाएको थियो ।

 

२२ मंसिर २०८०, शुक्रबार ११:३५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस