|  

बजारमा चार दिन पछि आलुको कारोबार शुरु प्याज भने अभाव

२३ मंसिर २०८०, शनिबार १२:२९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । आन्तरिक राजस्व विभागले स्वदेशी आलु र प्याजमा मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने जनाएपछि बजारमा कारोबार शुरु भएको छ । कारोबार ठप्प भएको चार दिन पछि आलु प्याजको खरिद–बिक्री शुरु भएको हो ।

हिजो आन्तरिक राजस्व विभागले नेपालमै उत्पादन भएका आलु, प्याज र स्याउलगायत उत्पादनमा मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने सूचना निकालेको थियो । यो सूचना आएपछि आजदेखि कारोबार खुलाइएको आलु–प्याज आयात–निर्यात तथा थोक बिक्रेता सङ्घका महासचिव प्रकाश गजुरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले काठमाण्डौको बजारमा एक सय टन आलुको माग छ । तर, चार दिन पछि आज बजार खुलेकाले माग अनुसारको आलु भित्रिएको छैन । आज ६० देखि ७० टन आलुको कारोबार हुने अनुमान छ । आलुको सिजन भएकाले भोलिदेखि माग अनुसारकै कारोबार हुने अनुमान छ ।

उहाँका अनुसार बजारमा प्याजको भने अभाव छ । नेपालमै उत्पादन हुने अनुकुल वातावरण भए पनि प्याजका लागि भारतकै भर पर्नु पर्ने अवस्था छ । भारतले बेलाबेलामा प्रतिबन्ध लगाउँदा माग र आपूर्तिको फाइदा उठाउँदै बिचौलियाले चलखेल गर्ने गरेका छन् । यसले गर्दा बजारमा प्याज महँगो छ ।

 

२३ मंसिर २०८०, शनिबार १२:२९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस