यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणले यस वर्ष मंसिरबाटै विद्युत् आयात गर्न सुरु गरेको छ । गएको वर्ष ०७८ मा पुसको पहिलो साताबाट विद्युत् आयात गर्न सुरु गरिएकोमा यस वर्ष मंसिर २१ गतेबाटै आंशिक रूपमा विद्युत् आयात गर्न सुरु गरिएको हो ।
स्वदेशी उत्पादन घटेपछि भारततर्फको विद्युत् को निर्यात पनि रोकिएको छ । शुक्रबार रातिबाट विद्युत् निर्यात रोकिएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले शनिबार भारतमा बिजुली बिक्री गर्न त्यहाँको खुला बजारमा कुनै पनि बिड गरेको छैन । उत्पादन घटेपछि निर्यात रोेकिएको र आन्तरिक माग धान्न भारतबाट आयात गर्न थालिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । गत वर्ष १९ जेठ ०७९ देखि ३ पुससम्म विद्युत् निर्यात भएको थियो । यस वर्ष भने ढिलो सुरु भएको निर्यात छिट्टै रोकिएको छ । यस वर्ष २८ जेठदेखि २२ मंसिरसम्म विद्युत् निर्यात भएको छ ।
यद्यपि, रकमका आधारमा विद्युत्को निर्यात भने बढेको छ । गएको वर्ष ११ अर्ब १६ करोड रुपैयाँको विद्युत् निर्यात भएकोमा यस वर्ष १५ अर्ब २४ करोड रुपैयाँको विद्युत् निर्यात भएको छ । जसअनुसार गत आवको भन्दा चार अर्ब आठ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको देखिन्छ । मुख्यतः निर्यात हुने बिजुलीको परिमाण बढेपछि आम्दानी पनि बढेको घिसिङको भनाइ छ ।