|  

सरकारलाई टिकटक प्रतिबन्धबारे आपत्ति जनाउँदै एसिया इन्टरनेट कोअलिसनको पत्र

२४ मंसिर २०८०, आईतवार ११:०५ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौ । सामाजिक सञ्जाल प्लेटफर्महरुको संस्था एसिया इन्टरनेट कोअलिसन एआईसीले नेपालमा सामाजिक सञ्जाल नियमन निर्देशिका र सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयप्रति चासो व्यक्त गरेको छ ।

एआईसीले नेपाल सरकारलाई पठाएको पत्रमा टिकटकसँगै अरु सामाजिक सञ्जाल एपमा प्रतिबन्ध लगाउनेबारे सरकारको तयारीलाई लिएर आपत्ति जनाएको छ ।

संस्थाले पाँच दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, सचिव कृष्णबहादुर राउत र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई संयुक्त रूपमा पत्र पठाएको हो ।

पत्रमा नेपाल सरकारले सामाजिक सञ्जालसँग सम्बन्धित उद्योग र नागरिक समाजसँग आवश्यक छलफल नगरि र तयारीका लागि समय नै नदिइ निर्देशिका र प्रतिबन्ध लगाउने निर्णय लागू गरिएको भन्दै आपत्ति जनाइएको छ ।

उचित कानुनी प्रावधानविना सरकारले टिकटकमा प्रतिबन्ध र अरु एपमा पनि निगरानी थाल्नु अन्तर्राष्ट्रिय अभ्यासविपरीत भएको पत्रमा उल्लेख छ । एआईसीले सरकारसँग छलफलको लागि समय पनि मागेको छ ।

२४ मंसिर २०८०, आईतवार ११:०५  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस