यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कसैले धम्क्याउँदैमा चिकित्सा शिक्षा ऐन संसोधनको प्रकृयाबाट सरकार पछि नहट्ने बताउनु भएको छ । सोमबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा अभियन्ता डा। गोविन्द केसीप्रति लक्षित गर्दै मन्त्री बस्नेतले सरकार ऐन संशोधनबाट पछि नहट्ने बताउनु भएको हो ।
चिकित्सा शिक्षा ऐनको विद्यद्यमान व्यवस्थाले गर्दा नेपालमा मेडिकल शिक्षा जुन ढङ्गले अघि बढ्नु पर्ने हो त्यो ढङ्गले अघि बढ्न नसकेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो ‘संशोधनको विषयमा प्रधानमन्त्रीज्यू तयार हुनुहुन्छ । क्याबिनेटमा समेत यसको विषयमा छलफल अब सुरु हुन्छ ।” अहिलेसम्म ऐन संशोधनको विषयमा दुई पटकसम्म बैठक भइसकेको र संशोधनको प्रक्रियामा अघि बढेको उहाँले जानकारी दिनुभयो ।
सरकारले अहिले एक सयदेखि तीन सय शय्या भएका अस्पतालहरूलाई नर्सिङ् र प्यारामेडिकस् पढाउन दिने र तीन सयभन्दा बढी शय्या भएका अस्पतालहरूलाई एमबिबिएस पढाउन दिने गरी खुकुलो पार्न लागेको उहाँले जानकारी दिनुभयो । सुधार गर्नुपर्ने ठाउँमा सुधार गरेर मेडिकल शिक्षा सञ्चालन गरिने मन्त्री बस्नेतले बताउनुभयो ।