यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौं । अर्थमन्त्री डा. प्रकाशशरण महत सरकारले समय सापेक्ष श्रमिकहरुको सीप विकास गराउन आवश्यक रहेको बताउनुभएको छ । बिहीवार ललितपुरमा भएको श्रमिक र उद्योग व्यवसायको सम्बन्ध विषय सेमिनारमा बोल्दै अर्थमन्त्री डा महतले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय नयाँ–नयाँ प्रविधिको विकास हुँदै गएकाले नयाँ प्रविधिको प्रयोग गर्नसक्ने श्रमिक बनाउन राज्यले लगानी गर्नु आवश्यक रहेको भन्दै सरकारले त्यसतर्फ ध्यान दिइरहेको बताउनु भयो ।
उहाँले नयाँ प्रविधिअनुसार श्रमिकहरुको सीप विकास भए मात्रै उद्योग व्यवसायबाट उत्पादन क्षमता बढ्ने बताउनु भयो । उहाँले उद्योगहरुमा उत्पादन वृद्धि भए मात्रै उद्योग व्यवसायको लागत कम हुने दाबी गर्नुभयो । उहाँले नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले भारतको भन्दा आयात भएका वस्तुहरु महँगो हुने गरेको बताउनु भयो । उत्पादन वृद्धिको लागि नेपाली उद्योग व्यवसायले पनि नयाँ प्रविधिहरुको प्रयोग गर्नुपर्ने जरुरी रहेको अर्थमन्त्री महतको भनाई छ । उहाँले ट्रेड युनियनहरुको नेतृत्वमा श्रमिकहरुको सीप विकास गरी क्षमता बढाउन लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले श्रमिकहरुको सीप विकास र क्षमता वृद्धि भएमात्रै प्रतिव्यक्ति आयमा समेत वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । अर्थमन्त्री डा। महतले उत्पादन वृद्धि भएर उद्योगको लागत कम भए श्रमिकहरुको पनि तलवमान वृद्धि हुने बताउनु भयो ।