|  

सुन तस्करी आरोपमा त्रिभुवन विमानस्थलका ३ कार्यालय सहयोगी पक्राउ

२८ मंसिर २०८०, बिहीबार १४:४२ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । सुन तस्करीको आरोपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हालसम्म तीन जना कार्यालय सहयोगी पक्राउ परेका छन् । बुधबार साँझ कार्यालय सहयोगी सुशीला पाण्डे पक्राउ परेकी थिइन् । त्यसअघि अन्य दुईजना कार्यालय सहयोग पनि पक्राउ परेका थिए ।

विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले सुन तस्करलाई सघाएको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताए । उनका अनुसार पहिले नै दुई जना पक्राउ परेका थिए । त्यसकै आधारमा बुधबार थप एक जनालाई पनि नियन्त्रणमा लिइएको हो ।

विदेशबाट आएका यात्रुले तस्करीको सुन व्यवस्थापनका लागि विमानस्थलका कर्मचारी मार्फत् गन्तव्यसम्म पुर्‍याउने गरेको अनुसन्धानबाट खुलेको छ । त्यसकै आधारमा विमानस्थलको आगमन कक्षमा खटिएका कर्मचारीहरुमाथि निगरानी गरिएको हो ।

मंसिर २१ गते १४ किलो सुन बोकेर दुबईबाट आएका गोरखाका चन्द्रबहादुर घलेले सुन फोहोर फाल्ने भाँडोमा राख्ने र त्यो सुन कार्यालय सहयोगी मार्फत् बाहिर लैजाने योजना रहेको खुलेको थियो ।

 

२८ मंसिर २०८०, बिहीबार १४:४२  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस