|  

नेपाली हस्तकला सामग्रीको प्रतिलिपि अधिकार बेलैमा सुरक्षित गर्नुपर्छ:राष्ट्रपति

२८ मंसिर २०८०, बिहीबार १४:५४ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली हस्तकलाबाट बनेका सामग्री सीपमा आधारित मौलिक उत्पादन भएकोले यसको प्रतिलिपि अधिकार समयमै सुरक्षित गर्नुपर्ने बताएका छन् ।

बिहीबार हस्तकला दिवसको अवसरमा आयोजित २० औँ हस्तकला व्यापार मेला तथा १८औँ हस्तकला प्रतियोगिताको उद्घाटन गरेका उनले नेपाली हस्तकलाका सामग्री कतिपय जातजातिको पुर्ख्यौली पेसाको रूपमा रहेको र मौलिक सीपमा आधारित उत्पादन भएकाले बेलैमा प्रतिलिपि अधिकार पनि सुरक्षित गर्नुपर्नेमा जोड दिए ।

‘नेपाली हस्तकलाका धेरैजसो सामग्रीहरू हाम्रा विभिन्न जातजातिहरूको पुर्ख्यौली पेसा र सीपमा आधारित मौलिक उत्पादन भएकोले सजिलै यसको नक्कल हुन सक्दैन’ राष्ट्रपति पौडेलले भने, ‘यस प्रकारका उत्पादनको प्रतिलिपि अधिकार पनि समयमै सुरक्षित गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।’

उनले हस्तकलालाई समयसापेक्ष बनाएर नयाँ पुस्तामा हस्तान्तरण गर्दै विकास गर्न आवश्यक भएको पनि उल्लेख गरे । हस्तकलाले नेपाली वस्तुको पहिचानलाई विश्वभर फैलाउन योगदान गर्ने उनको भनाई छ । विश्वका ८५ देशमा नेपाली हस्तकलाबाट उत्पादित सामग्री निर्यात भइरहेको अवस्थामा नेपालमा विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्र हस्तकला व्यवसाय भएको उनको धारणा छ ।

उनले यो क्षेत्रको प्रवर्द्धन गर्न हस्तकला उद्योगमैत्री आवश्यक नीति, ऐन, कानुन निर्माण गरी उत्पादित वस्तुहरूको देशभित्रै पनि बजार विस्तार गर्ने वातावरण निर्माण गर्नमा सरकारका सबै निकायले सहयोग गर्नुपर्ने बताए ।

२८ मंसिर २०८०, बिहीबार १४:५४  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस