यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौ । नेपालले खाडीका श्रम गन्तव्य देशहरुलाई सामूहिक प्रयासबाट श्रम बजारका समस्या समाधान गर्न आग्रह गरेको छ । श्रमबजारको मागअनुसार सीपयुक्त जनशक्ति उत्पादनमा लगानी तथा श्रमिक र परिवारको सुरक्षाका लागि सामाजिक सुरक्षामा सुनिश्चितताको लागि पनि नेपालले जोड दिएको छ ।
साउदी अरबको रियादमा हिजो भएको मन्त्रिस्तरीय र व्यावसायिक गोलमेच सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा दिनुपर्ने बताउनुभएको हो ।
नेपालमा सङ्गठित श्रमको अनिवार्यतालाई आफूहरुले बुझेको उल्लेख गर्दै मन्त्री भण्डारीले सीप विकासलाई प्राथमिकता दिएको बताउनुभयो । श्रमिक र रोजगारदाताबीच सम्बन्ध निर्माण गर्न सरकारी निकायले विश्वासको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उहाँले सामाजिक सुरक्षा कसरी प्रदान गर्ने भन्ने उत्तरदायित्व सरकारको हुने उल्लेख गर्नुभयो ।
मन्त्री भण्डारीले कुशल र उत्पादक श्रम बजारका लागि अन्तर्राष्ट्रिय मञ्चमार्फत पारस्परिक सूचना र शिक्षा आदानप्रदान गर्न तथा सामूहिकरुपमा काम गर्नका लागि सम्पर्क सञ्जाल स्थापना गर्न प्रस्तावसमेत गर्नुभएको छ ।
यस्तै, करारपत्र समाप्त भइसकेपछि रोजगारदाताको अनुमति नभएसम्म देश छाड्न या आफूले रोजेको अर्को रोजगारदातासँग गएर काम गर्न पनि कठिन हुने गरेको छ । त्यसले खाडीका देशहरुलाई लचिलो श्रम नीति अपनाउन पनि नेपालले आग्रह गरेको छ ।