|  

१७ अधिकारकर्मी काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने क्रममा पक्राउ

५ पुष २०८०, बिहीबार १४:४९ प्रकाशित
प्रदेशहब संवादाता

यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |


काठमाण्डौं । बिहीबार काठमाडौंको माइतीघरमा प्रदर्शनका क्रममा १७ जना अधिकारकर्मी पक्राउ परेका छन् ।

एनसेलको सेयर खरिद बिक्री राज्यविरुद्धको अपराध हो भन्दै विरोध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीलाई निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकारहरु उत्तम पुडासैनी र गोविन्द खनाल, संस्थापक सदस्य कृष्ण कँडेल, महासचिव रेनुका पौडेल, सचिवहरु रामप्रसाद जोशी र चन्द्रमणि बञ्जारा, कोषाध्यक्ष किरण ढकाल, केन्द्रीय सदस्यहरु नम्रता खरेल र दिवाकर पुडासैनीलगायत रहेका छन् । उनीहरुलई प्रहरीले नेपाल पुलिस क्लब भृकुटीमण्डपमा राखेको छ ।

प्रदर्शनमा सहभागीहरुले एनसेल घोटालामा प्रधानमन्त्रीरपूर्व प्रधानमन्त्री नै सहभागी भएको भन्दै कारबाही माग गरेको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सिंगापुर भ्रमणमा भएका डिलहरुबारे छानबिन हुनुपर्ने, यो प्रकरणमा विश्वसनीय न्यायिक छानबिन आयोग गठन गर्नुपर्ने लगायतको माग राखेका थिए ।

सरकारले गत महिनादेखि काठमाडौंको माइतीघरमा प्रदर्शन निषेध गरेको छ । बुधबार मात्र सूचना जारी गरी थप दुई महिना माइतीघरमा प्रदर्शन निषेध गरेको छ ।

 

५ पुष २०८०, बिहीबार १४:४९  मा प्रकाशित

फेसबुकबाट कमेन्ट दिनुहोस