यो समाचार प्रदेशहब संवाददाताद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लगाउनका सीमा नाकाबाट आउने सङ्क्रमितको नमुना सङ्कलन गरेर अणुवांशिक अध्ययन जिन सिक्वेन्सिङ गरेको छ । प्रयोगशालाले सीमा नाकामा सङ्क्रमितबाट सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरेको हो ।
प्रयोगशालाका निर्देशक डा. रञ्जनराज भट्टले १४ नमुनाको जिन सिक्वेन्सिङ गर्दा भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट भेरिएन्ट अफ इन्टरेस्ट फेला नपरेको बताए । उनले ती नमुनामा जिन सिक्वेन्सिङ गर्दा कोरोना भाइरसको पुरानो भेरियन्ट ओमिक्रोनको भेरियन्ट देखिएको बताए। भारतबाट नेपाल प्रवेश गर्ने सीमा नाकामा नोभेम्बर महिनामा सङ्कलन गरिएका नमुनाको जिन सिक्वेन्सिङ गरिएको हो ।
सरकारले भारतको केरला राज्यमा देखिएको सङ्क्रमणको रोकथाम र उपचारका लागि तयारी अवस्था रहेकाले नडराउन सबैलाई आग्रह गरेको छ । प्रयोगशालाले चीनमा बालबालिकामा देखिएको कडा खालको निमोनियाको जिन सिक्वेन्सिङ गर्ने तयारी गरेको छ । प्रयोगशालाका निर्देशक डा। भट्टले जिन सिक्वेन्सिङका लागि किट रहेकोले नमुना सङ्कलन गर्ने तयारी भइरहेको जानकारी दिए ।